इजरायलमा चुनावी परिणामलाई लिएर विवाद नेतान्याहुले लगाए धाँधलीको आरोप
वि.सं.२०८३ कात्तिक १२ बिहीवार १०:२१
shares

काठमाडौँ : इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ ।
अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट पाउँदा अरब पार्टीहरूले १९ सिट जित्ने प्रारम्भिक अनुमान छ ।
इजरायलको संसद् नेसेटमा सरकार गठन गर्न ६१ सिट आवश्यक पर्छ । तर, कुनै पनि प्रमुख गठबन्धनले एक्लै बहुमत हासिल गर्न नसकेपछि नयाँ सरकार गठन अन्य दलहरूको समर्थनमा निर्भर देखिएको छ ।नेतान्याहुको लिकुड पार्टीले अरब समुदायका मतदान केन्द्रहरूमा घुस, धम्की, हिंसा, नक्कली कागजात र एकभन्दा बढी पटक मतदान गरिएको आरोप लगाउँदै अनुसन्धानको माग गरेको छ। यी आरोप स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन् ।
जोइन्ट लिस्टका नेता अहमद तिबीले भने चुनावमा अनियमितता नभएको दाबी गर्दै अरब पार्टीहरूलाई प्राप्त मतको वैधतामाथि प्रश्न उठाएर मतदातालाई अवमूल्यन गर्न खोजिएको बताएका छन् ।यसैबीच, विपक्षी गठबन्धनले अरब पार्टीहरूको समर्थन जुटाएर सरकार गठन गर्न सक्ने सम्भावनाबारे पनि छलफल भइरहेको छ । अन्तिम मतपरिणाम र सरकार गठनको समीकरण भने अझै स्पष्ट भइसकेको छैन ।




































