पोखरा एभेन्जर्स सामु १४८ रनको लक्ष्य
वि.सं.२०८३ कात्तिक १५ आइतवार १९:२६
shares

काठमाडौं । ओपनर तृतराज दासको अर्धशतकको मद्दतमा जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्स सामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।
जनकपुरका लागि ओपनर तृतराज दासले ५५ बलमा ६१ रनको योगदान दिए । उनले ७ चौका र एक छक्का प्रहार गरे । अभिषेक तिवारीले आक्रामक ब्याटिङ गरे । उनी १० बलमा २४ रनमा अविजित रहे ।
पोखराका लागि सबै विकेट विदेशी खेलाडीले लिए । शाकिब अल हसनले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिएका हुन् । चमिका करुणारत्ने २, महेदी हसन, र मोहम्मद सैफुद्दिनले एकएक विकेट लिए । पहिलो खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा हुनेछ । एक खेलमा जित र एक खेलमा हार बेहोरेको जनकपुर दोस्रो जित निकाल्न चाहन्छ ।





































