संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रतामा सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री कार्यालय
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १४:४५
shares

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार दृढ रहेको स्पष्ट पारेको छ।
नियमित पत्रकार सम्मेलनमार्फत कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्याल तथा प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सरकारका पछिल्ला कामकारबाही, निर्णय, विकास आयोजनाको प्रगति तथा समसामयिक विषयमा जानकारी गराएका हुन्।
ब्रिफिङको अन्त्यमा बोल्दै प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सरकार प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट रहेको बताइन्। उनले भनिन्, “हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छौँ, यो हाम्रो संवैधानिक व्यवस्था पनि हो। मिडियाले उठाएका हरेक सवालप्रति सरकार सजग छ। नागरिकसम्म सरकारका काम पुर्याउन सञ्चार जगत्को महत्त्वपूर्ण भूमिका छ र हामी सबैको साझा प्रयासबाट मात्र परिवर्तन सम्भव छ।”
प्रधानमन्त्री कार्यालयको निर्देशनमा मिडिया हाउसमा पुगेर पत्रकारहरूलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा चर्को आलोचना भइरहेको र नेपाल पत्रकार महासङ्घले आन्दोलन घोषणा गरेपछि त्यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्टीकरण दिएको हो।


































