कांग्रेसका १५ जनाले ब्यास नगरपालिकाको मेयरको उम्मेदवार बन्न निवेदन दिए
वि.सं.२०७८ चैत २३ बुधवार २०:४९
shares

पोखरा । तनहुँको ब्यास नगरपालिका प्रमुखको उम्मेदवार बन्न आकांक्षा राख्दै १५ जनाले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा निवेदन दिएका छन् । ३० वैशाखमा हुने स्थानीय चुनावका लागि ब्यासको मेयर चयनका लागि कांग्रेसले निवेदन माग गरेको थियो । निवेदन दिनेमा हालका मेयरदेखि जिल्ला समन्वय समितिका प्रमुख सम्म छन् । जिल्ला सदरमुकाम दमौली पनि पर्ने भएकाले ब्यास अन्य पालिका भन्दा बढी चर्चामा आउने गर्छ ।
मेयर पदमा आकांक्षा राख्दै निवेदन दिनेमा हालका मेयर बैकुण्ठ न्यौपाने, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, रघुनाथ पौडेल, देवकुमार श्रेष्ठ, लक्ष्मीभक्त खनाल, विश्व बाँस्तोला अशोककुमार श्रेष्ठ, समुन्द्र गोदार, डम्बरबहादुर अधिकारी, शेषरमण न्यौपाने, हरिदत्त पौडेल, शंकर पौडेल, विद्या खनाल, वृषराज श्रेष्ठ र दीपकराज जोशी छन् । कांग्रेस स्रोतका अनुसार १५ जनाले निवेदन दिए पनि हालका मेयर न्यौपाने सहित जिल्ला उपसभापति देवकुमार श्रेष्ठ र जिल्ला कमिटीका पूर्वसचिव विश्व बाँस्तोलामध्ये एकले मेयरको टिकट पाउने देखिन्छ ।
त्यस्तै उपप्रमुखका लागि कांग्रेसका ७ जनाले निवेदन दिएका छन् । उपप्रमुखमा हालकै उपप्रमुख मीरा जोशी, नारायणी अधिकारी, कल्पना कोइराला पोखरेल, इन्दिरा दरै, नोमा थापा, मुन्नी हमाल ठकुरी शाही, विणा कैनीले उपप्रमुख पदका लागि निवेदन दिएका छन् । ब्यासमा अघिल्लो स्थानीय चुनावमा पनि प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसले नै जितेको थियो । कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपानेले नेकपा एमालेका उम्मेदवार शंकरनायण श्रेष्ठलाई करिब ४ हजार मतान्तरले विजयी हासिल गरेका थिए । उपप्रमुखमा कांग्रेसकै मिरा जोशीले नेकपा माओवादी केन्द्रकी उम्मेदवार अतिन्द्रकेशरी न्यौपानेलाई करिब १० हजार बढी मतान्तरले पराजित गरेकी थिइन् ।
तनहुँमा ४ नगरपालिका र ६ वटा गाउँपालिका छ । नेपाली कांग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेका अनुसार तनहुँकै शुक्लागण्डकी नगरपालिमा पनि प्रमुख र उपप्रमुखको उम्मेदवारका लागि निवेदन परेको छ । उनका अनुसार शुक्लागण्डकी नगर प्रमुखमा १० जना र उपप्रमुखमा ८ जनाले निवेदन दिएका छन् । ‘बाँकी पालिकामा पनि आकांक्षी मनोनयन दर्ता हुँदैछ । त्यसै बाट एक जनालाई उम्मेदवार छानिने हो,’ वाग्लेले भने । कांग्रेसले उम्मेदवार सिफारिस प्रक्रिया सुरु गरे पनि सत्तारुढ गठबन्धनमा सिट बाँडफाँडमा सहमति भएको छैन । तर, आफूहरुले गरेको उम्मेदवार सिफारिस प्रक्रियाले गठबन्धनलाई असर नगर्ने प्रवक्ता वाग्लेको जिकिर छ ।
‘यो भनेको कांग्रेसका तर्फ बाट उम्मेदवार छनोट गर्ने केवल प्रारुप मात्रै हो । यही नै अन्तिम होइन । यस बाट पनि संसदीय समितिले छान्ने हो,’ प्रवक्ता वाग्लेले भने, ‘गठबन्धन हुने कुरा छ । त्यो भयो भने हामी उम्मेदवारी फिर्ता लिन्छौं वा अन्य कुनै सहमति भइहाल्ला !’







































