८८ पृष्ठ लामो काँग्रेसको सङ्कल्प, सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर, गाउँ देखि केन्द्र सम्म नेपाली काँग्रेसको सरकार’ भन्ने नारा
वि.सं.२०७९ वैशाख ११ आइतवार १७:५४
shares

काठमाडौं ।नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । ८८ पृष्ठ लामो सङ्कल्पमा ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर, गाउँ देखि केन्द्र सम्म नेपाली काँग्रेसको सरकार’ भन्ने नारा दिइएको छ ।
• संविधानको भावना र मर्म अनुसार स्थानीय सरकारलाई स्वायत्त रूपमा सञ्चालन गर्न सङ्घीय र प्रदेश सरकारले उत्प्रेरकको भूमिका निर्वाह गर्ने,
• सुशासन, पारदर्शिता, जबाफदेहिता र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुसरण गरी भ्रष्टाचारमुक्त र मितव्ययी शासन प्रणाली अवलम्बन र संस्थागत गर्ने,
• स्थानीय सरकारको कार्य सम्पादनको समीक्षा गर्ने उद्देश्यले पार्टीले हरेक वर्ष अनुभव साटासाट गर्ने
• स्थानीय सरकारको अनुगमन र मूल्याङ्कन संयन्त्र बनाई प्रभावकारी अनुगमन गर्न हरेक आर्थिक वर्ष समाप्त भएको २ महिना भित्र स्थानीय तहको पार्टी अडिट’ गर्ने
• स्थानीय सरकार र नेतृत्वको मूल्याङ्कन गर्दा राष्ट्रिय र स्थानीय तहले निर्धारण गरेको लक्ष्यका साथै घोषणापत्रमा उल्लेखित सूचकाङ्कको आधारमा मूल्याङ्कन गर्ने
नगर्ने काम
पार्टीको नीति र सिद्धान्त, सुशासनका मापदण्ड र जनताप्रतिको उत्तरदायित्वलाई पूर्ण रूपमा आत्मसात् गर्दै हाम्रा स्थानीय सरकारको नेतृत्व गर्ने प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूले देहाय बमोजिमका कार्य गर्ने छैनौँ भनेर सङ्कल्प गर्नेछन् :
–जनताको कर बाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौँ,
–सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन गर्दैनौ,गर्न दिने छैनौँ,
–कानुनको सीमा भन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम गर्दैनौँ,
–नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौँ,
–निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तर दायी रूपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम गर्दैनौँ, गर्न दिने छैनौँ,
–कानुन, आर्थिक तथा वित्तीय उत्तर दायित्व र अनुशासनको उल्लङ्घन गर्दैनौ,
–महिला माथि हुने हिंसा, जातीय भेदभाव, लैङ्गिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्ष रूपमा समेत कुनै पनि अवस्थामा संलग्न हुने छैनौँ





































