पूर्व राजा श्रीपेच उपहार लिएर काठमाडौं फिर्ता
वि.सं.२०७९ वैशाख १४ बुधवार १६:५३
shares

काठमाडौं। इटहरीका एक शिल्पीले दिएको श्रीपेच उपहार लिएर पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र झापा बाट काठमाडौं फर्कनुभएको छ । राजा काठमाडौं तर्फ फर्कंदै गर्दा भद्रपुर एयरपोर्टमा इटहरी निवासी कर्ण विश्वकर्माले राजदण्ड सहितको श्रीपेच उपहार दिएका थिए । श्रीपेचमा सुन, चाँदी र मोती समेत जडान भएको बताइएको छ । त्यति महँगो उपहार उनले राजसंस्था प्रतिको अगाध आस्थाका कारण दिएको बताएका थिए । श्रीपेच उपहार प्राप्त गर्दा राजा ज्ञानेन्द्र भावविभोर हुनुभएको बताइएको छ ।
राजपरिवारको यस पटकको एक महिना लामोे झापा बसाइ नितान्त पारिवारिक थियो । उहाँहरूले नयाँ वर्ष सिलगुडीमा मनाउनुभएको थियो भने यसै बीचमा परेको चैते दशैँ दमकमै परिवारका साथ मनाउनुभएको थियो । यसपटकको भ्रमणमा छोरी प्रेरणा तथा धीरेन्द्रका छोरीहरूसहित पूर्व बडामहारानी कोमलका माइती परिवारको समेत सहभागिता रहेको थियो ।
प्राप्त जानकारी अनुसार झापा बाट सिलगुडी हुँदै नयाँ दिल्लीको भ्रमणमा जाने राजाको कार्यक्रममा केही फेरबदल भएको छ । उहाँको नयाँ दिल्ली भ्रमण केही समय पर सरेको श्रोतले जानकारी दिएको छ । नयाँ दिल्लीमा यस पटक नरेन्द्र मोदी सँग भेट्ने कार्यक्रम रहेको बताइएको थियो । कार्यक्रम राजाका कारणले सरेको हो या नयाँ दिल्लीको कारणले भन्ने चाहिँ थाहा हुन सकेको छैन । श्रोतले भन्यो- ‘समय केही पर सरेको छ र पत्राचार जारी छ ।’
राजाको भारत भ्रमण आचार्य महामण्डलेश्वर मार्फत हुन लागेको थियो । भारत भ्रमणका क्रममा राजाले राजनीतिक ब्यक्तित्वहरू सँगको भेटघाट लगायत विभिन्न धार्मिक अनुष्ठानमा पूजा-अर्चना गर्ने कार्यक्रम रहेको छ । आचार्य महामण्डलेश्वरको निमन्त्रणामा उहाँले सन् २०२१ को अप्रिल महिनामा भारतको उत्तराखण्डमा पर्ने हरिद्वारको भ्रमण गर्नुभएको थियो ।






































