को-को सँग कहाँ-कहाँ भयो गठबन्धन, हेर्नुहोस त तमासा
वि.सं.२०७९ वैशाख १४ बुधवार १८:१७
shares

काठमाडौं ।सरकारले स्थानीय तहको चुनाव घोषणा गरेदेखि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन सँग एमालेले यसपालि एक्लै भिड्ने बताइरहे। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरमा खोलेको तरकारी बजारको चैत १६ गते उद्घाटन गर्दै ओलीले सत्ता गठबन्धनमा रहेका पाँच दललाई एक-एक किलोको ढकको सज्ञा दिँदै एमाले एक्लै क्विन्टलको भएको बताएका थिए।
‘कतिपय साथीहरूलाई लाग्न सक्छ गठबन्धन गरेका छन्, अप्ठेरो पर्न सक्ला भनेर,’ ओलीले भनेका थिए, ‘मैले भन्ने गरेको छु- यदि एउटा तराजुमा एक/एक किलोका पाँच वटा ढक एकातिर राख्नुभयो र क्विन्टलको ढक अर्कातिर राख्नुभयो भने के हुन्छ? एमाले क्विन्टलको ढक हो। पाँच वटा भनेका एक-एक किलोका ढक हुन्।’ ओलीले अब एमाले सँग कसैले पनि एक्लाएक्लै लड्छु भन्ने नचिताए पनि हुने बताएका थिए। ‘एमालेसँग लड्न सकिँदैन भनेर गठबन्धन गर्नु ठिक छ। गठबन्धन गरेरै आउनुपर्छ। साह्रै बच्चा भयो भने गाह्रो हुन्छ। निहुरेर लडाइँ गर्नुपर्छ। कुम-कुममा खुट्टा राखेर पाँच जना आए त निहुरिन परेन,’ उनले भने, ‘लोभी पापीहरूको गठबन्धन कति गाह्रो होला?’
ओलीले एमाले एक्लै चुनाव लड्छ भनेर दिएको हुँकार १५ दिन पनि टिक्न सकेन। एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वमा रहेको नेपाल परिवार दल सँग चैत ३० मा चुनावी तालमेल नै गर्यो। पाँच बुँदे सहमति गर्दै उनीहरूले सूर्य चिन्हमा चुनाव लड्ने र एकअर्काका उम्मेदवारलाई सहयोग गर्ने समझदारी गरे। यसको एक सातापछि एमालेले आफ्नो चुनावी गठबन्धनलाई झन् कसिलो बनाउन महासचिव शंकर पोखरेल बाट नै सर्कुलर जारी गरेको थियो- राप्रपा नेपाल, परिवार दल र जनमोर्चा सँग सहकार्य गर्नू।
राप्रपा नेपाल सँग चुनावी तालमेल गर्ने सहमति भए पनि एमाले सँग पालिका तहमा चुनावी सहकार्य गर्न भने राजेन्द्र लिङ्देन नेतृत्वमा रहेको राप्रपा आइपुगेको छ। राप्रपाले पनि आफू अनुकूल हुने गरी एमालेलाई कतै विरोधमा त कतै समर्थनमा उम्मेदवारी दिएको छ। ओलीकै गृहनगर झापाको दमकमा एमाले र राप्रपा आमने सामने हुने भएका छन्। यहाँ राप्रपाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सँग चुनावी तालमेल गर्दै मेयरमा राम थापालाई उम्मेदवार बनाएको छ। राप्रपा उम्मेदवार थापालाई कांग्रेस र माओवादी केन्द्रको साथ छ भने यहाँ एमाले बाट मेयरमा गीता अधिकारी उम्मेवार छिन्।
कांग्रेसकी रेगिना भट्टराई उपमेयर उठ्दा एमाले बाट अम्बिका खनाल उम्मेदवार छिन्। लामो समय देखि मेयर उम्मेदवार हुँदै हार्दै आएका राप्रपाका राम थापा यसपालि भने माओवादी र कांग्रेसको साथमा चुनाव जित्ने दाउमा छन्। राप्रपा नेपाल र परिवार दल सँग गठबन्धन गरे पनि ओलीको गृहनगर दमकमा यी पार्टीका धेरै प्रभाव छैन। त्यसैले गृहनगरमै एमाले यसपालि कमजोर हुने देखिन्छ। ओलीको गृहनगर दमकमा एमाले विरूद्ध गठबन्धन गरेको राप्रपा चितवनका दुई पालिका र नवलपुरको गैंडाकोटमा भने एमाले सँग सहकार्य गर्न आइपुगेको छ।
भरतपुर महानगरमा राप्रपाले उपमेयर उठाएको छ। मेयरमा उम्मेदवारी नदिएको राप्रपाले एमालेका मेयर उम्मेदवार विजय सुवेदीलाई समर्थन गरेको छ। भरतपुरमा सत्ता गठबन्धन बाट माओवादीकी रेनु दाहाल मेयर र कांग्रेसका चित्रसेन अधिकारी उपमेयर उम्मेदवार छन्। सत्ता गठबन्धनका उम्मेदवार हराउन भन्दै एमालेले भरतपुरमा राप्रपाको साथ लिएको छ। यहाँ एमालेले उपमेयर उठाएको छैन। राप्रपाकी उपमेयर उम्मेदवार हिमाला गुरूङलाई एमालेको समर्थन छ। भरतपुरका वडा नम्बर १५ र २६ पनि एमालेले राप्रपालाई छाड्ने भएको छ। अन्य वडामा भने एमाले र राप्रपा बीच मित्रवत् प्रतिस्पर्धा गर्ने समझदारी बनेको थियो।
चितवनकै माडीमा पनि एमाले र राप्रपा बीच चुनावी गठबन्धन छ। एमाले बाट यहाँ ताराकाजी महतो मेयर उम्मेदवार छिन्। यहाँ एमालेले उपमेयर पनि उठाएको थियो। एमालेका उपमेयर उम्मेदवार रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिने र राप्रपा बाट उपमेयर उम्मेदवार मदन पौडेललाई समर्थन गर्ने सहमति भएको छ। यहाँका ९ वडा मध्ये मेयर सहित चार वडा एमालेले लिएको छ भने उपमेयर सहित पाँच वडा राप्रपालाई दिइएको छ। माडी राप्रपा उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्रमा पर्छ। माडीमा अहिले माओवादी र कांग्रेसले गठबन्धन गरेका छन् भने एमाले र राप्रपाले गठबन्धन गरेका छन्। यसपालि माओवादीका ऋषिराम काफ्ले मेयर उठेका छन्। नवलपुरको गैंडाकोटमा पनि एमाले र राप्रपा बीच चुनावी तालमेल छ। जबकी यहाँ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि एक्लै मेयर उठेको छ। यहाँ सत्ता गठबन्धन बाट चुनावी तालमेल छैन। तर एमालेले मेयरमा छत्रराज पौडेललाई उम्मेदवार बनाएर उपमेयर राप्रपाका तुलाराम पौडेललाई छाडेको छ।
यहाँ कांग्रेसले यसपालि मेयर र उपमेयर नै उम्मेदवार उठाएको छ। माओवादीले मेयर उठाए पनि उपमेयर उठाएको छैन। सत्तापक्ष एक्लाएक्लै उम्मेवार बनेका ठाउँमा पनि एमाले राप्रपा सँग चुनावी तालमेलमा छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले एमाले सँग राप्रपाले केन्द्रीयस्तरमा गठबन्धन भने नगरेको बताए। ‘केही पालिकामा हामीले उठाएका उम्मेदवारलाई एमालेले समर्थन गरेको छ,’ उनले भने, ‘कसैसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने राप्रपाले यसपालि नीति बनाएन। स्थानीय आवश्यकता अनुसार कतैकतै तालमेल भएका छन्।’ एमालेले मधेश प्रदेशका केही जिल्लामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग पनि चुनावी तालमेल गरेको छ। वीरगञ्ज उपमहानगरपालिकाको मेयरमा एमालेले विजय सरावगीलाई उठाएको छ भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार बनेका छन्। यहाँ सत्तागठबन्धन बाट जसपाका राजेशमान सिंह मेयर र कांग्रेसका इम्तियाज आलमले उपमेयरमा उम्मदेवारी दिएका छन्। एमाले र लोसपा बीच महोत्तरीको बर्दिवास नगरपालिकामा पनि चुनावी तालमेल भएको छ।
एमालेले मेयर लिएर उपमेयर लोसपालाई छाडेको हो। यहाँ एमालेले टेकबहादुर बलाम्पाकीलाई मेयरको उम्मेदवार बनाएको छ। एमालेले लोसपाकी रामगुनकुमारी महतोलाई उपमेयरमा समर्थन गरेको छ। बर्दिवासमा कांग्रेसले मेयरमा चिरञ्जीवि हमाललाई उठाएको छ। माओवादीले भने बर्दिबासको मेयरमा राजु खड्कालाई उठाएको छ। एमालेले आफू कमजोर रहेका क्षेत्रमा अर्को पार्टी सँग मात्र होइन स्वतन्त्र उम्मेदवार सँग पनि चुनावी तालमेल गरेको छ। तनहुँको व्यास नगरपालिकामा एमालेले नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशीको समूह सँग चुनावी तालमेल गरेको छ। दीपकराजलाई व्यासको मेयर छाडेर एमालेले उपमेयर लिएको छ। उपमेयरमा एमालेकी बसुन्धरा घर्तीले उम्मेदवारी दिएकी छन्। जोशीले स्वतन्त्र रूपमा मेयर उम्मेदवार बनेका छन्। गोविन्दराजलाई कांग्रेसले पाँच वर्षका लागि पार्टी साधारण सदस्य बाट निकालेको थियो। उनका छोरा दीपकराज विदेश बाट फर्केर यसपालि स्वतन्त्र ढंगले मेयर उठेका छन्।
यसअघि वैशाख ८ मा जोशी समूह र एमाले बीच भएको सहमति अनुसार जोशी समूहले व्यास नगरको प्रमुख सहित चार वडा पाएको थियो। जोशी समूहले वडा नम्बर १, २, १२ र १४ को अध्यक्ष उम्मेदवार उठाएको छ। अन्यमा एमालेले उम्मेदवार उठाएको छ। जोशी समूहले बन्दीपुर गाउँपालिका उपाध्यक्षसहित एक वडा, भानु नगरपालिका उपमेयर सहित तीन वडा, आँबुखैरेनी गाउँपालिकाको दुई वडा समेत पाउने सहमति भएको थियो। व्यासमा कांग्रेसले पहिलेका मेयर वैकुण्ठ न्यौपानेलाई नै उम्मेदवार बनाएको छ। यहाँ उपमेयर पनि कांग्रेस बाट इन्दिरा दरै उपमेयर उम्मेदवार बनेकी छन्। एमालेले राप्रपा नेपाल र नेपाल परिवार दल सँग चुनावी तालमेल गरे पनि यी दलका उम्मेदवारलाई पालिका तहमा एमालेले उम्मेदवार समर्थन गरेको छैन।






































