भरतपुरका मेयरका उम्मेदवार पौडेललाई फकाउने प्रयास जारी, मन्त्रीद्धय चितवनमै
वि.सं.२०७९ वैशाख १६ शुक्रवार ०९:४८
shares

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस बाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन नेताहरुले प्रयास जारी राखेका छन् ।यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नेपाली कांग्रेस चितवनका नेताहरु सँग छलफल गरिरहेका छन् ।
सेन्ट्रल पाम होटलमा मन्त्रीहरु सँग कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा बीच छलफल भइरहेको छ । सापकोटा वागी उम्मेदवार पौडेलका प्रस्ताव हुन् ।
आज उम्मेदवारी फिर्ता लिने दिन हो । त्यसैले जसरी भए पनि पौडेललाई मनाउने र गठबन्धनको तर्फ बाट रेनु दाहाललाई साझा उम्मेदवार बनाउने प्रयासमा नेताहरु जुटेका छन् । मन्त्री खाँण आज बिहान साढे ११ बजे चितवन बाट काठमाडौं फर्किने पूर्वनिर्धारित तालिका रहेकाले त्यसअघि नै पौडेललाई उम्मेदवारी फिर्ता गराउन नेताहरु प्रयासरत छन् ।
गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठले बिहीबार पौडेललाई उनकै निवासमा पुगेर उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका थिए । तर, पौडेलले पछि नहट्ने जवाफ दिएका थिए ।



































