समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको नेपालको दाबी
वि.सं.२०७९ वैशाख १६ शुक्रवार १७:०८
shares

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी बाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका छन् । एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादी बाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताए ।
एकल उम्मेदवारी परे सँगै पार्टीको तर्फ बाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित एको उनले दाबी गरे । ‘३५ जना व्यक्तिहरुले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिन्ह बोक्ने पार्टीको विजयको झण्डा फहराउँदै उहाँहरु अगाडी बढ्नुभयो,’ नेपालले भने, ‘प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरु सँग ।’
अध्यक्ष नेपालले गठबन्धनमा आवद्ध दलहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताए । गठबन्धन भित्रका दलले अहंकार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्नेमा उनले जोड दिए । ‘उम्मेदवारीको बारेमा तल माथि भएको होला कतिपय ठाउँहरुमा । हाम्रा दुखेसाहरु होलान् । आलोचना पनि होलान हाम्रा गठबन्धनका अन्य पार्टीहरु प्रति,’ उनले भने, ‘त्यो आफ्नो ठाउँमा हामी विवेचना गरौँला । त्यस्तो गर्न हुँदैन पनि भनाँला । अहंकार नराख्नुपर्ने हो पनि भनौँला । वस्तुनिष्ठ भएर चल्नुपर्दछ भन्ने हामी पनि भनौँला । अरुले पनि भन्लान ।’
उनले एकीकृत समाजवादी पार्टी २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीकै निरन्तरता भएकाले जनतामा परिक्षण भइसकेको पार्टी दाबी गरे । अध्यक्ष नेपालले पार्टीको संगठनलाई टोल–टोल सम्म बिस्तार गर्न पनि नेता, कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।






























