भरतपुरमा सत्ता गठबन्धनले आमसभा गर्ने ठाउँ जलमग्न, हावाले पाल झण्डा उडायो
वि.सं.२०७९ वैशाख २२ बिहीवार ०७:३०
shares

चितवन ।सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्ने भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ । रातभर परेको वर्षाका कारण भरतपुर स्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्रमा जलमग्न भएको हो । सभाका लागि अघिल्लो दिन नै तयार पारिएको मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् । आमसभा स्थललाई सजाउन राखिएका झण्डाहरू पनि हावाले उडाउँदा यत्रतत्र झरेर पानीमा डुबेका छन् ।
अब कसरी आमसभा गर्ने भन्ने बारे छलफल गरिने कांग्रेसका एक नेताले जानकारी दिए । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हिजो नै चितवन आएर भरतपुर बसेका छन् । आमसभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताहरुले सम्बोधन गर्ने भनिएको छ ।
भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फ बाट माओवादी केन्द्रकी रेनु दाहाल प्रमुख पदमा र नेपाली कांग्रेसका चित्रसेन अधिकारी उपप्रमुख पदमा उम्मेदवार छन् । कांग्रेसकै नेता जगन्नाथ पौडेलले मेयर पदमा बागी उम्मेदवारी दिएका छन् । यसैगरी नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ । भरतपुर महानगरपालिकाको निर्वाचनलाई सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले प्रतिष्ठाको विषय बनाएकाले धेरैको चासो चितवनमा हुने गरेको छ ।







































