विश्व प्रेस काउन्सिलको बैठकमा नेपालले राख्यो न्यू मिडिया र सामाजिक सञ्जाललाई प्रभावकारी कसरी बनाउने भन्ने प्रस्ताव
वि.सं.२०७९ वैशाख २२ बिहीवार ०७:२६
shares

काठमाडौं ।प्रेस काउन्सिलको अन्तराष्ट्रिय स्तरको मञ्चमा न्यू मिडिया र सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ । अफ्रिकी देश केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारण सभामा प्रेस काउन्सिल नेपालका तर्फ बाट यस्तो सुझाव राखिएको हो ।
नेपालका तर्फ बाट बोल्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले न्यू मिडिया र सामाजिक सञ्जाललाई रचनात्मक बनाउन नेपालमा धेरै खालका प्रयासहरू भएको अवगत गराउँदै यसलाई मर्यादित र व्यवस्थित बनाउनु जरुरी भइसकेको बताए । उनले भने–‘हामीले सामाजिक सञ्जाललाई आचारसंहिताको परिधि भित्र बाँध्न विभिन्न प्रयासहरु गरेका छौं । यसलाई रचनात्मक बनाउन नेपालमा विभिन्न कामहरु काउन्सिलले गरिरहेको छ । सबै तिरको अनुभव साटासाट गर्दै साझा खालको आचारसंहिता निर्माण गर्न सकिन्छ ।’ वर्ल्ड एशोसिएसन अफ प्रेस काउन्सिलको बुधबार सुरु भएको बैठकमा अध्यक्ष बस्नेतले छलफलका विषय प्रस्ताव गरेका थिए । उनले मिडियालाई समस्यारहित बनाउन र सक्षम जनशक्ति थप्न सञ्चार सचेतना अभियानलाई सबैतिर जोड दिनुपर्ने सुझाव राखेका थिए ।
सो अवसरमा मन्तव्य राख्दै केन्याका सूचना तथा सञ्चार मन्त्री जो मुचेरोले प्रेस काउन्सिलका विश्वभरका प्रतिनिधिहरूलाई स्वागत गर्दै यस्ता मञ्च बाट न्यू मिडियाले ल्याएका विश्वव्यापी चुनौती सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए । उनले राजनीतिक, सामाजिक समस्या र खिचातानीका बाबजुद मिडियाले आफ्नो खास धर्म कहिले छाड्न नहुनेमा जोड दिएका थिए । विभिन्न ३ दर्जन मुलुकका अध्यक्ष र प्रतिनिधि सहभागी बैठकमा नेपाल बाट प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र काउन्सिल सदस्य ठाकुर बेलबासेले सहभागिता जनाएका छन् ।
विश्व प्रेस काउन्सिलका महासचिव समेत रहेका श्रेष्ठले संस्थाको प्रतिवेदन राख्दै समय परिवर्तन सँगै मिडियामा विभिन्न समस्या थपिएकाले त्यसलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए । विश्व प्रेस काउन्सिलका अध्यक्ष प्रा.डा. सुले अकरले सबै देशबाट आएका सुझावमा छलफल गरी केन्या घोषणापत्र जारी गर्ने जानकारी दिएका थिए ।







































