kumari
stcnepal

बौद्ध देवी तार/पार्वतीको मूर्ति अमेरिकाको विश्वविद्यालय बाट नेपाल फर्काइने

काठमाडौं ।अमेरिकाको एक विश्वविद्यालयमा रहेको नेपालको बौद्ध देवी तार/पार्वतीको मूर्ति नेपाल फर्काइने भएको छ । येल विश्वविद्यालयको आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको उक्त मूर्ति नेपाल फर्काउन नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क र येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकट, संयुक्त राज्य अमेरिका बीच सहमति भएको हो ।

नेपाल सरकारका तर्फ बाट न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येल सँगको साझेदारीमा उक्त कलाकृति फिर्ता गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । आर्गिलाइट-ढुङ्गाबाट नवौं-दशौं शताब्दिमा बनेको उक्त(७०.५X३८.१X१३.०७ से.मी.) को मूर्ति येल युनिभर्सिटीमा सन् २०१५ मा एक दाता मार्फत पुगेको थियो ।

नेपालको पुरातत्व विभाग र येल विश्वविद्यालय कला संग्रह बाट २०२१ मा गरिएका छुट्टाछुट्टै अनुसन्धान बाट यो मूर्ति २०३२ साल सम्म भक्तपुर ननगरपालिका गोलमाडी टोल स्थित वीरभद्रेश्वर महादेव मन्दिर भित्र रहेको पत्ता लागेको थियो । र, त्यहाँ बाट हराउनुअघि बौद्धदेवी/पार्वतीको रुपमा दैनिक पूजाआजा हुने गरेको पुष्टि भएको थियो । समभङ्ग मुद्रामा उभिएको, हातमा नाल र कमलको फूल लिएको र कलाशैलीका हिसाबले यो मूर्ति आरम्भिक मध्यकालको रहेको अनुमान गरिएको छ ।

मूर्ति फिर्ता गर्ने सहमतिपछि बोल्दै कार्यवाहक महावाणिज्यदूत गौतमले येल विश्वविद्यालय, येल विश्वविद्यालय आर्ट ग्यालेरी, उक्त ग्यालरीकी निर्देशक स्टेफनी वाइल्स, गभर्निङ बोर्ड र क्युरेटोरियल टोलीलाई धन्यवाद दिएका छन् । मूर्ति हस्तान्तरण गर्ने क्रममा येल युनिभर्सिटी आर्ट ग्यालेरीकी निर्देशक स्टेफनी वाइल्सले मूर्ति फिर्ता गर्न पाउँदा खुसी लागेको बताइन् ।

 

 

 

footer