माओवादी अध्यक्ष पुष्पकमल दाहाल कैलालीमा पुगेर भने कांग्रेसलाई विश्वास गर्ने आधार छैन
वि.सं.२०७९ वैशाख २६ सोमवार १३:५१
shares

धनगढी ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले कैलाली पुगरे गठबन्धन प्रतिको भनाई फेरेका छन् । उनले गठबन्धन भित्र कांग्रेस बाट धोका हुन सक्ने आशंका व्यक्त गर्दै अब भर गरेर जान नसकिने अवस्था देखिएको बताएका छन् ।
सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन दलभित्रको सहमति विपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिएको बताए । उनले कांग्रेस सँग धेरै स्थानमा गठबन्धन प्रष्ट नभएको बताए । उनले अन्य क्षेत्रमा जस्तै कांग्रेसले यहाँ पनि गठबन्धनको सहमति विपरीत उम्मेदवारी दिएको भन्दै त्यसलाई खारेज नगर्ने हो भने हामी एक्लै चुनाव लड्नुपर्ने अवस्थामा हाम्रो तर्फ बाट उपाध्यक्ष पदमा परेको उम्मेदवारलाई जिताउनुपने बताए ।
कैलारी गाउँपालिकामा गठबन्धनको सहमति माओवादीलाई अध्यक्ष र उपाध्यक्षमा कांग्रेसलाई उम्मेदवार बनाउने भन्ने थियो । तर‚ सहमति बन्नुअगावै कांग्रेस बाट टिकट पाइसकेका रामसमज चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दिए । पार्टीले प्राविधिक कारणले उनको उम्मेदवारी रद्द गराउन सकेको छैन् ।
कांग्रेसको उम्मेदवारी पछि उपाध्यक्षमा माओवादीकी लक्ष्मी सत्वगौवा चौधरीले पनि उम्मेदवारी दिएकी छन् । उनले पनि अहिले सम्म उम्मेदवारी फिर्ता लिएकी छैनन् । माओवादीले पनि गठबन्धनको सहमति विपरीत सत्गौवा चौधरीका लागि मत मागिरहेको प्रति लक्षित गर्दै प्रचण्डले हाम्रो उम्मेदवारले जित्नुपर्ने बताए ।



































