नेकपा एसका केन्दीय सदस्य शाही एमालेमा प्रवेश
वि.सं.२०७९ वैशाख २६ सोमवार १३:५४
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला सह-इन्चार्ज तर्कबहादुर शाही एमालेमा प्रवेश गर्नूभएको छ। शाहीले आइतबार विज्ञप्ति जारी गर्दै आफू एमालेमै फर्किएको उल्लेख गर्नुभएको हो । उहाँले अहिलेको गठबन्धन सत्ताका लुछाचुँडीका लागि मात्र भएको उल्लेख गर्दै आफूले समाजवादी पार्टी परित्याग गरेको बताउनुएको छ । गठबन्धन प्रतिगमनका विरुद्ध नभई सत्ताको लुछाचुँडीका लागि मात्र बनेको शाहीले बताउनुभएको हो ।
उहाँले गठबन्धनको भरेङ चढेर गुमेको सत्ता पुनः प्राप्तिको खेलमा लागेको नेपाली कांग्रेसको नेतृत्वले आफ्ना इमानदार कार्यकर्तालाई जबाफ दिन नसकेको बताउनुभयो । उग्र वामपन्थ भड्काव बाट उत्पत्ति भएको नेकपा माओवादी केन्द्र गठबन्धनको सहारामा खिइँदै गएको आफ्नो अस्तित्व जोगाउन कांग्रेस रूपी गाईको पुच्छर समातेर वैतरणी पार गर्न खोजेको विज्ञप्तिमा भन्नुभएको छ ।
शाहीले बिना कारण पार्टी फुटाउने र अप्राकृतिक गठबन्धन गरेर आफू सत्तामा जान र टिकी राख्न गरिने सम्पूर्ण कार्य जनविरोधी भएको बताउनुएको छ । लोकतन्त्र भित्रका फरक फरक विचारलाई कमजोर पार्ने र एक मात्र बलियो पार्टी नेकपा एमालेलाई फोड्ने खेललाई अस्वीकार गर्दै एमालेमा फर्किने निधो गरेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
यस्तै एकीकृत समाजवादी पार्टीका राष्ट्रिय पार्षद एवं प्रदेश कमिटी सदस्य सुस्मिता सिंह एमालेमा प्रवेश गर्नुभएको छ। सिंह ०७४ को स्थानीय तह निर्वाचनमा एमाले बाट ठाँटिकाँध गाउँपालिकाकी उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।



































