स्थानीय चुनावको प्रचारप्रसारको आज अन्तिम दिन नेकपा एमाले आज काठमाडौंको भृकुटीमण्डपमा बृहत सभा गर्ने, सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने
वि.सं.२०७९ वैशाख २७ मंगलवार ०७:३९
shares

काठमाडौं ।नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्ने भएको छ।सभालाई अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार स्थानीय चुनावका लागि अन्तिम सभा आज काठमाडौंमा गर्न लागिएको छ।
आज मध्यरात देखि मौन अवधि सुरू हुन्छ। ‘एमालेले आज गर्ने सभा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा हो,’ उहाँले भन्नुभयो, ‘देशभर नै सन्देश दिने उदेश्यले काठमाडौंमा अन्तिम चुनावी सभा गर्न लागेका हौँ।’ आजको सभामा काठमाडौँ महानगरपालिका सहित काठमाडौँ जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकी सहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने पनि शाक्यले जानकारी दिनुभयो ।
‘११ वटै पालिकाका लागि हामीले बागबजार, सुन्धारा र पुतलीसडक गरी तीन स्थान तोकेका छौँ,’ काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले भन्नुभयो, ‘उहाँहरु तीन स्थान बाट जुलुस र झाँकी सहित भृकुटी मण्डपमा दिउँसो २ बजे पुग्नु हुनेछ । सभालाई पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले सम्वोधन गर्नुहुने छ ।’





































