निर्वाचन बिरोधी गतिविधि गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी
वि.सं.२०७९ वैशाख २७ मंगलवार ०७:५१
shares

काठमाडौं ।गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्ररूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही कानुन बमोजिम कारबाहीको भागीदार हुने जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गरी केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवार बाट निर्वाचन प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटफुट घटना घट्ने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकूलका केही क्रियाकलाप भइरहेका सूचना प्राप्त भएको जनाएको छ ।
निर्वाचनलाई शान्त स्वच्छ, निष्पक्ष धाँधली रहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्र्नु सबैको कर्तव्य भएको जनाउँदै मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कानून बमोजिम कारबाहीको भागीदार हुने उल्लेख गरेको छ । निर्वाचनको बहानामा कानून विपरीतका गतिविधिमा संलग्न हुने र कानुन हातमा लिने छुट कसैलाई पनि नभएको र त्यस्ता गतिविधिको सुरक्षा निकाय बाट सूक्ष्म निगरानी भइरहेको जारी विज्ञप्तिमा जनाइएको छ । स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकै चरणमा हुँदै छ ।





































