सबै निर्वाचन केन्द्रमा त्रिपालको ब्यबस्था गर्न निर्वाचन आयोगको निर्देशन
वि.सं.२०७९ वैशाख २७ मंगलवार ०८:०२
shares

काठमाडौं- स्थानीय तहको निर्वाचनको मतदानको दिन अर्थात ३० वैशाखमा वर्षाको आँकलन गरिएपछि निर्वाचन आयोगले हरेक निर्वाचन केन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ। वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न आयोगले सरकारी निकायलाई निर्देशन दिएको हो।
शुक्रबार बिहान ७ बजे देखि मतदान कार्य सम्पन्न नभए सम्मका लागि मतदान हुने सबै मतदान केन्द्रमा पाल र त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न आयोगले भनेको हो। स्थानीय तहका सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारी सँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको हो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरूलाई निर्देशन दिने निर्णय गरेको हो। साथै, सोको आवश्यक समन्वय एवम् सहजीकरणका लागि गृह मन्त्रालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।





































