बालेनको लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बजारियो : एमाले सांसद खतिवडा
वि.सं.२०७९ जेठ २६ बिहीवार १४:१०
shares

काठमाडौं ।प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थाापनको नाममा नुवाकोटे जनता माथि प्रहरी दमन भएको भन्दै विरोध जनाएका छन् ।प्रतिनिधि सभामा बैठकमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले स्थानीय निर्वाचनमा पाएको चुनाव चिन्ह लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिएको टिप्पणी गरे । ‘स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ’ सांसद खतिवडाले भने ।
काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडा जाँदै गर्दा स्थानीयबासिन्दा सँग प्रहरीको झडप भएको थियो । सोही झडपत र्फ संकेत गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन् । सांसद खतिवडाले थपे, ‘सभामुख महोदय, यही जेठ महिनाको २४ र २५ गते नुवाकोट जिल्लाको ककनी र धादिङको धुनीबेंसी बीचको बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनताहरु माथि प्रहरी दमन भएको छ ।’
फोहोर व्यवस्थापनको नाममा नुवाकोटमा १७ वर्ष अगाडि देखि वेतिथी भएको उल्लेख गर्दै उनले स्थानीय जनताको जायज माग सुनेर, ती मागहरु पुरा गरेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था गर्नका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।





































