बिधुतको प्रशारण लाईनमा चढेका माइलालाई सेनाले गर्यो ९ घण्टा पछि उद्धार
वि.सं.२०७९ जेठ २८ शनिवार २०:१०
shares

काठमाडौं ।नुवाकोटको ककनी स्थित त्रिशुली प्रशारण लाइनमा झुन्डिएका माइला विकको उद्धार गरिएको छ। नेपाली सेनाको टोलीले उनको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।
काठमाडौं बाट सेनाको टोली हेलिकप्टर लिएर उडेको थियो। त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली समेत खटिएको थियो।दिनभर उनलाई फकाएर उद्धार गर्न खोजेपनि सकेको थिएन। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उनको उद्धार गर्न सहयोग मागेपछि नेपाली सेनाको हेलिकप्टर सहितको टोली ककनी उडेको थियो।
‘नेपाली सेनाको टोलीले भर्खरै उद्धार गर्नुभएको छ। उहाँहरूले पोलमा चढेर उद्धार गर्नुभयो,’ उनले भने। शनिबार बिहान करिब १० बजे बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४५ वर्षीय माइला प्रशारण लाइनको विद्युतीय पोलमा चढेका थिए। उनी चढेको देखेपछि स्थानीयले विद्युत लाइन बन्द गराउन लगाएका थिए।
पोलपछि उनी तारमा समेत झुन्डिन पुगेका थिए। उनलाई स्थानीय तथा प्रहरीले खाना खुवाउन बोलाएर पनि तल झार्ने प्रयास गरेका थिए। तर उनी झरेनन्। यसरी दिनभर जस्तो विद्युत आपूर्ति बन्द हुँदा नेपाल विद्युत प्राधिकरणले भारत बाट आपूर्ति गरेको हो। दिनभर विद्युत बन्द हुँदा एक करोडको हाराहारीमा क्षति पुगेको प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए।



































