एमालेको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग
वि.सं.२०७९ जेठ ३१ मंगलवार १७:१३
shares

काठमाडौं ।नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन गठन गर्नुपर्ने माग गरेका हुन् ।
‘यो गम्भीर विषय सदनमा प्रवेश भइसकेपछि, सारा जनताले थाहा पाइसकेपछि, मिडियामा आइसकेपछि खास खास घरानाका मान्छेले प्रश्रय दिने गरी करको दरमा हेरफेर भइसकेपछि यो सदन मुकदर्शक भएर बस्न सक्दैन’ उनले भने ।
सांसद भट्टराईका अनुसार बजेट निर्माण गर्ने क्रममा जेठ १४ गते राति अर्थ मन्त्रालयमा अर्थमन्त्रीको प्रतिनिधि बनेर अनधिकृत व्यक्ति प्रवेश गरेका थिए । उनले विभिन्न व्यापारिक घरानालाई फाइदा हुने गरी करको दर हेरफेर गरेका थिए । त्यसपछि एमाले सांसदहरु बसेको ठाउँबाट उठेर संसद बैठक अवरोध गरेका छन् ।






































