प्रधानमन्त्री ज्यू, परराष्ट्रमन्त्रीलाई हटाएर आफू एसपीपीको पक्षमा नरहेको प्रमाणित गर्नुहोस्
वि.सं.२०७९ असार २ बिहीवार १७:२९
shares

काठमाडौ । पाँच दलीय गठबन्धनको नेतृत्व गरेर अदालतको २०७८ असार २८ गतेको परमादेश अनुसार प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकार पछिल्लो समयमा विवादको घेरामा तानिएको छ ।
२०७९÷८० को बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिनिधि भएको बताउँदै तिनै प्रतिनिधिबाट करको दरमा हेरफेर गर्ने जिम्मेवारी अनाधिकृत व्यक्तिलाई दिएको हुनाले उनी विवादको घेरामा तानिएका छन् भने अमेरिकासँग गर्न खोजिएको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नेपालको लागि हानिकारक रहेकोमा गत मंगलबार परराष्ट्रमन्त्री नारायण खड्काले प्रतिनिधिसभाको बैठकमा जुन अभिव्यक्ति दिए त्यो मुलुककै लागि दुर्भाग्यको विषय हो ।
एसपीपीबारे नेपाल सरकारले के कस्तो कार्य गरिरहेको छ भन्ने पुष्टि नहुँदै परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभाको बैठकमा भने यो सम्झौता नेपालको परराष्ट्रनीति विपरित नरहेको दाबी गरेका छन् । मुलुकको कुटनीतिक कमाण्ड समालेका व्यक्तिले यस्तो अनुचित अभिव्यक्ति दिन सुहाउँछ ?
प्रधानमन्त्री देउवा र नेपाली सेनाका प्रधानसेनापति यसै महिना अमेरिकाको भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री अमेरिकाको भ्रमणमा रहेका बेला एसपीपी सम्झौता गरिने आशंका नेपाली जनतालाई भएको बेला परराष्ट्रमन्त्रीले जुन अभिव्यक्ति दिए त्यो आफैँमा आपत्तिजनक रहेको छ ।
प्रस्तावित सैन्य साझेदारी कुनै एउटा मिसन आउँछ अनि त्यो जान्छ सकिन्छ भनेर नेपालको भूराजनीतिक सम्वेदनशिलतालाई कुनै पनि राजनीतिक ओहोदाधारीले वेवास्ता गर्न मिल्दैन । हुन त प्रधानमन्त्री देउवा जति पटक प्रधानमन्त्री भए त्यति नै पटक उनले विवादास्पद कार्यहरु गर्दै आएका हुनाले परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको इसारा बेगर त्यस्तो अभिव्यक्ति दिन सक्ने अवस्था नै रहँदैन ।
उनले प्रधानमन्त्रीको निर्देशन अनुसार नै त्यस्तो अभिव्यक्ति दिएको आशंका गरिएको छ । संसदको प्रमुख विपक्षी दल र सत्ता गठबन्धनमा रहेकै दलका सांसदहरुले समेत एसपीपीको विरोध गरिरहेका बेला परराष्ट्रमन्त्री जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले मुलुककै लागि दुर्भाग्य हुने र नेपालको परराष्ट्र नीतिको विपरितको अभिव्यक्ति दिएको हुनाले परराष्ट्रमन्त्रीले राजिनामा दिएर नेपाली जनतासामू माफी माग्नुपर्दछ ।
एसपीपी सम्झौता गरिए भोली उठ्नै नसक्ने गरी नेपाल चंगुलमा फस्न सक्ने र असंलग्न परराष्ट्रनीतिको प्रतिकूल हुने गरी नेपाल त्यसमा साझेदारी हुनु हुँदैन । यसैबीचमा प्रधानमन्त्री देउवाले नेपालको हित विपरित कुनै पनि सम्झौतामा सही नगर्ने बताएका छन् ।
सत्ता गठबन्धनमा रहेका दलका शिर्ष नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले सम्झौता नगर्ने बताएका भएपनि अहिले नै त्यसलाई विश्वास गरिहाल्ने आधार देखिएको छैन । सैन्य सम्झौता आजमात्र होइन भोली पनि गर्न पाइँदैन ।
अमेरिकासँग मात्र होइन कुनै पनि देशसित यस विषयमा राजनीतिक नेतृत्वमात्र होइन सैन्य नेतृत्वमा कुनै द्विविधा रहनु हुन्न । नेपालले अमेरिकासँग मात्र होइन भारत, चीन लगायतका अन्य मुलुकसँग पनि सैन्य अभ्यास गर्दै छ भने किन अमेरिकासँग भने स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता नै गर्न प¥यो त ?
यस्तो सम्वेदनशिल विषयमा परराष्ट्रमन्त्री जस्ता व्यक्तिले हलुका रुपमा बोलेर नेपाललाई उठ्नै नसक्ने गरी चंगुलमा फसाउने कार्यलाई सहयोग पु¥याउने खालको अभिव्यक्ति संसदमै दिएका हुनाले उनलाई प्रधानमन्त्रीले तत्काल पदबाट हटाएर आफू एसपीपीको पक्षमा नरहेको प्रमाणित गराउन सक्नुपर्दछ ।






































