कम्युनिष्ट पार्टीहरुलाई फेरि एकजुट बनाउने अभियानमा लागि पर्छु : सांसद वामदेव गौतम
वि.सं.२०७९ असार ३ शुक्रवार १३:४२
shares

काठमाडौं । राष्ट्रियसभाका सांसद बामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समय देखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाए ।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्य समेत रहनु भएका सांसद गौतमले कम्युनिष्ट पार्टीहरुलाई एकीकृत गर्नका लागिनै आफूले कुनै पनि नेताहरुको बारेमा टिकाटिप्पणी नगरेको स्पष्ट पारे ।
नेपाललाई एउटा समृद्ध समाजवादमा पुर्याउने आशा सहित गठन भएको नेकपा पार्टी भित्रको आन्तरिक समस्याका कारण ३ वटा टुक्रामा विभाजित भएको उनको भनाई छ ।
‘आज कम्युनिष्ट पार्टी विभाजित भएर तीन वटा टुक्रामा पुगेको छ । र, म फेरि एकीकृत गर्ने, म फेरी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने एउटा महाअभियानमा संलग्न हुने विचार गरेको छु । र, केही समयपछि म घोषणा गरेर त्यो काममा लाग्नेछु । सफलता प्राप्त हुन्छ कि हुँदैन ।’पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले नेकपा गठनपछि जनता खुसी भएको तर पार्टी भित्रकै उत्पन्न समस्याहरुले सो पार्टीलाई विभाजित गरेको पनि स्मरण गराए।
उनले भने, ‘केही समय देखि म नेपालको कुनै पनि पार्टीमा छैन । र, मेरो विचार कम्युनिष्ट पार्टीहरु फेरि एकजुट हुनुपर्छ भन्ने हो । त्यसो भएर मैले कुनै नेताको बारेमा टिकाटिप्पणी पनि गरेको छैन । र, आफ्नो जीवनमा सधैंभरी क्रिटिकल व्यक्ति हुँ । मैले पुष्पलालको पनि आलोचना गरेँ । मैले मदन भण्डारीको पनि आलोचना गरेँ, जिवराज आश्रितको पनि आलोचना गरेँ । म जोजो सँग सम्बन्धित भएको छु–उहाँहरु सँग सैद्धान्तिक, राजनीतिक बहस हुँदाहुँदै आएको हो । र, म त्यसैमा दीक्षित भए । हामीले एउटा ऐतिहासिक अवसर प्राप्त गरेका थियौं ।’
































