एसपीपी नेपाली सेना मार्फत अघि बढाउन खोज्नु गम्भीर विषय भएको नेता वर्षमान पुनको टिप्पणी
वि.सं.२०७९ असार ४ शनिवार १८:३२
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपाली सेना मार्फत अघि बढाउन खोज्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन् ।मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्ता कुटनीतिक प्रस्ताव सेना मार्फत नभई परराष्ट्र मन्त्रालय मार्फत आउनुपर्ने धारणा राखे । ‘एसपीपी परराष्ट्र मन्त्राल यमार्फत आउनु पर्नेमा सेना मार्फत आउनु गम्भीर हो, अब यस्तो नहोरियोस्, यो नै अन्तिम पटक होस् ।’
नेपालले असंलग्न परराष्ट्र नीति अबलम्बन गर्दै आएको भन्दै उनले राजनीतिक नेतृत्वलाई बाइपास गरेर सैनिक नेतृत्व मार्फत एसपीपीको प्रस्ताव आउनुको कारण सबै मिलेर खोज्नुपर्ने उल्लेख गरे । नेपाली सेनाको व्यवसायिक निष्ठामा कुनै शंका नरहे पनि तत्कालीन सैनिक नेतृत्वले राजनीतिक नेतृत्वलाई छलेको नेता पुनले बताए । ‘नेपाली सेनाको व्यवसायिक निष्ठामा कुनै शंका छैन’, पुनले भने, ‘राजनीतिक नेतृत्व मार्फत आउनुपर्ने प्रस्ताव सेना मार्फत आउनु र राजनीतिक नेतृत्वलाई छलेर पटक-पटक गरिएको पत्राचारलाई सामान्य रुपले हेरिनु हुँदैन ।’

































