मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गरे सञ्चारमन्त्री कार्कीले
वि.सं.२०७९ असार ६ सोमवार १४:०१
shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गरेका छन् । उनले आज बिहान हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।
मन्त्री कार्कीले सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी सहितका हजयात्रीलाई दोसल्ला ओढाएर बिदाइ गरेका हुन् । हजयात्राका लागि पहिलो दिन सुनसरी बाट ७९, मोरङबाट २४, झापाबाट तीन, प्रतिनिधि दुई र चिकित्सक एक जना त्यस तर्फ निस्केका हुन् । हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्का मदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।
बर्सेनि एक हजार २०० जनालाई हज यात्राका लागि व्यवस्थापन गर्ने भएकामा कोभिड–१९ को प्रभावका कारण यस वर्ष ५४८ जनाको कोटा निर्धारण गरिएको समितिका सदस्य सचिव कृष्ण पौडेलले जानकारी दिए । मङ्गलबार देखि पाँच दिन सम्म क्रमशः सबै हजयात्री मक्का मदिना प्रस्थान गरिसक्ने समितिले जनाएको छ ।




































