आज बागमती प्रदेश सभाको बैठक बस्दै
वि.सं.२०७९ असार १३ सोमवार ०८:३२
shares

हेटौंडा ।बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ । सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समान रूपमा सम्बोधन गर्न नसकेको भन्दै नेकपा एमालेले आइतबारको बैठक अवरुद्ध गरेको थियो ।
मुख्य सचेतक दीपक निरौलाले दलको तर्फ बाट सम्बोधन गर्दै बजेट संशोधन नभए सम्म बैठक चल्न नदिने भन्दै अवरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका थिए । सभामुख श्रेष्ठले आर्थिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिए सँगै एमाले सांसदहरुले आ-आफ्नो आसन बाट उठेर विरोध जनाएका थिए ।
बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिई अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संशोधनको माग गरिरहेको छ ।



































