राप्रपाका खेलकुद बिभाग प्रमुख बस्नेतले दिए साधारण सदस्य समेत नरहने गरि राजिनामा
वि.सं.२०७९ असार १५ बुधवार १६:१८
shares

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीको खेलकुद विभाग प्रमुख दमन बस्नेतले राजीनामा दिएका छन्। उनले अध्यक्ष राजेन्द्र लिङ्देनलाई बुधबार राजीनामा पत्र लेख्दै पार्टीको साधारण सदस्य समेत नरहने जनाएका छन्। उनले पछिल्लो समय पार्टीमा सैद्धान्तिक र वैचारिक विचलन आएको, गुटगत राजनीति बढेको र जडसूत्रवादी चिन्तन देखिन थालेको भन्दै त्यस बाट आफू निराश भएको बताएका छन्।
‘म पद, स्वार्थ, अवसर र कुनै महत्वाकांक्षा पूर्तिका लागि पार्टीमा आवद्ध भएको होइन। अनुशासन, कर्म, इमानदारिता र निष्ठामा विश्वास गर्दछु’, उनले भनेका छन्, ‘पछिल्लो समय राप्रपामा आएको सैद्धान्तिक, वैचारिक विचलन, गुटगत राजनीति, साँघुरो सोच, अनि संकीर्णता र जडसूत्रवादी चिन्तन बाट निराश भएँ। पार्टीलाई एउटा गन्तव्यमा पुर्याउने चाहना र सपनामाथि यी पक्षहरुले निकै ठूलो अवरोध पुग्ने मेरो निष्कर्ष हो।’
बस्नेतले महाधिवेशनपछि जुन उत्साहका साथ सही बाटो बाट सबै पक्षलाई समेटेर पार्टी अघि बढ्नुपर्नेमा पार्टी दिनप्रतिदिन उन्माद, अहंकार र आलोकाँचोपनको सिकार हुँदै गएको बताएका छन्।
‘यो ओरालो र अन्धकारमय कहीँ नपुगिने यात्राको निरीह साक्षीको रुपमा बसिरहन मेरो आत्माले मानेन’, उनले भनेका छन्, ‘आजकै मिति देखि लागु हुने गरि खेलकुद विभाग प्रमुख सहित राप्रपाको साधारण सदस्य पद बाट राजीनामा गरेको छु।’






































