आज विश्वकर्मा पूजा धुमधामका साथ मनाईदै
वि.सं.२०७८ असोज १ शुक्रवार १०:४३
shares

काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाईरहेका छन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ ।
बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर विश्वकर्माको पूजा आराधनाको तयारी गरिएको जनाइएको छ ।
आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताएका छन् ।


































