kumari
stcnepal

कस्तो हो लोकतन्त्र नेताले जित्ने, जनताले हार्ने ?

 

देवेन्द्र चुडाल
नामै लोकतन्त्र लोक भनेको जनता र तन्त्र भनेको जनतासँग प्रत्यक्ष जोडिने व्यवस्था हो । तर आज हामी कहाँ त्यस्तो अवस्था देखिएको छैन । लोकतन्त्रमा पनि जनताले मत हाल्ने बाहेक काँहि कतै आफूँलाई सार्वभौमसत्ता सम्पन्न नागरिकका रुपमा उभ्याउन पाएका छैनन् । घर व्यवहार चलाउन पनि विदेशिनु पर्ने अवस्था सिर्जना भएको छ । स्वदेशमा सुशासनका सूचकहरु नाजुक अवस्थामा पुगेका छन् । नागरिकले विदेश जानुपर्ने बाध्यताले गर्दा युवा युवती दिनहुँ विदेश गइरहेका छन् । विदेशिने नागरिकले राहदानी बनाउन र सवारी लाइसेन्स सम्म सहज रुपमा पाउन सकेका छैनन् । मुलकमा भ्रष्टाचारले दह्रो जरा गाडेको छ । जनताले पाइलैपिच्छे अनावश्यक रुपमा पैसा तिर्नुपर्ने बाध्यता सिर्जना गरिएको छ । पछिल्लो समयमा अर्थतन्त्रका सूचकहरु पनि झस्काउने खालका देखिएका छन् । नेताहरुलाई पटक पटक अदालतले विधिको शासनको पाठ पढाउनुपर्ने अवस्था रहेको छ । न्यायलय पनि कहिले काँहि आफैँ विवादित बन्ने गरेको छ ।
यी सबै दृष्यहरु राजनीतिक दलका नेताहरुले देखिरहेका भएपनि त्यसलाई समाधान गर्न सकेका छैनन् । राजनीतिक दल भनेका जनताका सेवक हुनुपर्नेमा उनीहरु जनताका मालिक जस्ता भएका छन् । सत्ता प्राप्तिका लागि राजनीतिक दलहरु र तिनका नेताहरु आफ्नो राजनीतिक दलको सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर आफ्नो सिद्धान्त विपरितका दलहरु मिलेर सत्ताको भोग गरिरहेका छन् । जनताले नै राजनीतिक दलहरुको हैसियत तोकिदिएका भएपनि उनीहरुले जनतालाई सत्तामा पुग्ने भ¥याङ्गमात्र बनाएका हुनाले लोकतन्त्रमा पनि जनताले विश्वास गर्न सकिरहेका छैनन् । नेपाली कांग्रेस आफूलाई सबैभन्दा पुरानो पार्टी भएको र लोकतन्त्र नै आफ्नो आदर्श रहेको बताउँदै आएका भएपनि उसको व्यवहार भने ठीक उल्टो देखिएको छ ।
२०४६ सालको राजनीतिक परिवर्तन पछि नेपाली कांग्रेसले नै सबैभन्दा बढी समय सत्ताको नेतृत्व गरेको भएपनि पछिल्लो समयमा कांग्रेस विस्तारै ओरालो लाग्दै गएको छ । कांग्रेसले आफ्नो सिद्धान्त र नीति अनि विचारलाई परित्याग गर्दै गएको छ । त्यसको प्रत्यक्ष प्रमण हो वैशाख १० गते भएको तनहुँ निर्वाचन क्षेत्र नं १ बाहेक चितवन निर्वाचन क्षेत्र २ र बारा निर्वाचन क्षेत्रमा त आफ्नो उम्मेदवार सम्म खडा गर्न नसक्नु ।
तनहुँ निर्वाचन क्षेत्र १ मा कांग्रेस नराम्रोसँग पराजित भएको छ भने चितवन निर्वाचत क्षेत्र नं. २ मा समेत पराजित भएको छ । यो उपनिर्वाचनको परिणामले कांग्रेसलाई नराम्रो झड्का दिएको छ । कांग्रेसले आफूलाई मात्र लोकतन्त्रवादी पार्टी भन्ने गरेको र आफू बाहेक अरु सबै कम्युनिष्ट हुन् भनिरहेको बेला झण्डै १ वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेसलाई ठुलो झट्का दिएको छ । कांग्रेस त्यागेर रास्वपामा गएका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नै कांग्रेसका उम्मेदवारलाई तनहूँ १ मा भारी मतले पराजित गरिदिएका छन् । वाग्ले उपनिर्वाचन हुनु भन्दा केही अगाडि मात्र रास्वपामा गएका थिए । वाग्लेलाई पराजित गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल सहित कांग्रेसका सभापति शेरबहादुर देउवा, माधव नेपाल र डा. बाबुराम भट्टराई तनहुँ पुगेर कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको पक्षमा मत मागेका थिए ।

प्रधानमन्त्री दाहालले त भट्टराईलाई जिताएर पठाउनुहोस् म मन्त्री बनाईदिन्छु भन्ने आश्वासन समेत जनतालाई दिएका थिए । तर जनताले बहालवाला प्रधानमन्त्री र तीन पूर्व प्रधानमन्त्रीको आग्रहलाई अस्वीकार गरि वाग्लेलाई भारी मतले विजयी गराएका छन् । जनतालाई पटक पटक झुठा आश्वासन दिएको र निर्वाचित भएपछि सत्ताको खेलमा नै नेताहरु सक्रिय भएका हुनाले यस पटकको उपनिर्वाचनमा जनताले पुराना दललाई विश्वास गर्न सकेनन् अहिले सत्य वास्तविकता भनेको यही हो । जनतालाई एक दुई पटक ढाँट्न सकिन्छ सँधैभरी ढाँट्न सकिँदैन भन्ने प्रमाणित त यस पटकको उपनिर्वाचनमा देखिएको परिणामले नै देखाइदिएको छ । अब पनि आफूलाई पुराना पार्टीहरु भन्नेहरु नसच्चिएको खण्डमा २०८४ मा हुने आम निर्वाचनमा उनीहरुको पत्तासाफ हुने अवस्थामा उनीहरु पुगेका छन् ।

हालै सम्पन्न भएको तीन क्षेत्रको उपनिर्वाचनमा विलकुल नयाँ दल र नयाँ दलका उम्मेदवारलाई पनि अस्वाभाविक रुपमा जिताएर जनताले थोरै भएपनि आफ्नो निराशालाई निकास दिएका छन् । जनताको निराशालाई आशामा बदल्ने काम राजनीतिक दल र तिनका नेताहरुकै भएको भएपनि अहिलेका अवस्था हेर्दा त्यस्तो देखिएको छ । मुलधारको राजनीतिक भन्दा बाहिरको रास्वपाले कस्तो आकार लिन्छ भन्ने सकिने अवस्था अहिले नै देखिएको नभएपनि यस्तो राजनीतिक पर्यावरण अशोभनिए तवरमा प्रियतावाद हुर्कीरहेको भन्ने सहजै अनुमान लगाउन सकिन्छ । प्रियतावादबाट ठगिने भनेका जनता नै हुन् । प्रियतावाद भनेको जनतालाई ठग्ने प्रमुख माध्यम हो । त्यसभित्र अतिराष्ट्रवाद, धर्मवाद, जातिवाद, उग्रराष्ट्रवाद सबै पर्दछन् ।

प्रियतावादमा जनताप्रति उत्तरदायी हुनुनपर्ने जे जसरी भएपनि ठगिरहने र आफूले बोलेको कुराहरु पूरा गर्न नपर्ने र अनि जहिले सुकै पनि सत्तामा नै पुग्नुपर्ने आफ्नो पार्टीको उत्तराधिकारी बनाउनु नपर्ने र आर्यघारमा पुग्ने बेला सम्ममा पनि पदमै बसिरहने र जनतालाई ठगिरहनेहरु नै प्रियतावादका जन्मदाता हुन् । प्रियतावादमा जालझेल, षड्यन्त्र र आफ्नो नीति सिद्धान्तलाई तिलाञ्जली दिएर भएपनि सत्तामा पुग्ने खेललाई नै प्राथमिकतामा राखिने गरेको र जनतालाई झुठा आश्वासनका पोकाहरु बाँडिने भएकाले जनताले पटक पटक ठगिनुपरेको छ । प्रियतावादमा आफू बाहेक अरु कोही छ्रैनन् भनेर जनतालाई ठग्ने गरिँदै आएकोले गर्दा यसपटक प्रियतावादीहरुलाई जनताले पत्याईदिएन । राजनीतिक दलहरुले जमिनमा टेकेर राजनीति गर्नुपर्ने आजको पहिलो आवश्यकता हो । राजनीतिक दल तथा तिनका नेताहरुको मुख्य उदेश्य भनेको आफ्नो सत्ताभोग तथा आफ्नो सुखसयल नभएर नागरिकको कल्याणको विषय हुनुपर्ने अहिलेको पहिलो आवश्यकता हो । नेताहरुले पटक पटक भ्रम छर्न खोजेजस्तो फेरिएको शासन व्यवस्था नै सम्पूर्ण उपलब्धी हुँदै होइन । राजनीतिक परिवर्तन त्यतिबेला मात्र सार्थक हुन्छ यो आम जनताको जीवनसँग जोडिन्छ ।
अहिलेको लोकतन्त्रमा त्यस्तो कुनै रुप देखिएको छैन । त्यसैले भन्न सकिन्छ दल र नेताहरु विजेता भएका छन् तर नागरिक पराजित हुँदै गएका छन् भनेर । नेताहरुको सिमित बृतमा जोडिएको यो लोकतन्त्रलाई नागरिकका समस्या र कठिनाईसँग जोडिन आवश्यक रहेको छ । राजनीतिक व्यवस्था बदल्न फेरी जनताले सडकमा आउन नपरोस् त्यसको हेक्का दल र तिनका नेताहरुलाई बेलैमा होस् ।
हालै सम्पन्न भएको उपनिर्वाचन पनि मुद्दाविहिन रह्यो । त्यसो त, नेपाली राजनीतिक मुद्दा विहिन अवस्थामा रहेको छ । गएको आम निर्वाचनमा पनि दलहरुले नविन मुद्दाहरु अघि सार्न सकेका थिएन । तिनले पुरानै घोषणापत्र कपी पेष्ट गरेर जनतासामू गए । राजनीतिक वैचारिक आधारभूमि विर्सिँदै सत्तामुखी बनेका दल र तिनका नेताले जनतालाई आकर्षित गर्ने मुद्दा अघि सार्न सकेका थिएनन् र अहिलेको उपनिर्वाचनमा पनि जनतालाई आकर्षित गर्ने कुनै मुद्दा पनि दलहरुले अघि सार्न सकेनन् । उपनिर्वाचनको कार्यनीति के हो ? कुन बैचारिक र राजनीतिक कार्यको धरातलमा दलहरु निर्वाचनमा होमिएका थिए ? सत्ता गठबन्धनले गठबन्धनका उम्मेदवारलाई मत माग्दा यसको उत्तर दिन सकेको थिएन ।
तनहुँमा पुगेर प्रधानमन्त्रीले कांग्रेसका उम्मेदवारलाई आफ्नो साझा उम्मदवार भएको बताउँदै उनलाई जिताएर पठाउनुहोस् मन्त्री बनाईदिन्छु भन्ने उधारो आश्वासन जनतालाई दिएका थिए । कांग्रेसका सभापति देउवाले समेत अनेक आश्वासन बाँडे । अर्थात सत्ता गठबन्धनका नेताहरुले उधारो आश्वासन बाहेक आफ्ना उम्मेदवारलाई मत माग्ने आधार नै देखिएको थिएन । सत्ता गठबन्धन र त्यसमा पनि कांग्रेस सिँगो संयन्त्र जसरी चितवन र तनहुँमा केन्द्रीत थियो त्यो स्वाभाविक छँदै थिएन । त्यही कारणले गर्दा पनि जनताले कांग्रेसका र सत्ता गठबन्धनका साझा उम्मेदवारलाई पत्याईदिएनन् । प्रधानमन्त्री सहित कांग्रेसका सपभाति लगायत महामन्त्रीले रास्वपाका उम्मेदवार वाग्लेलाई व्यक्तिगत गाली गलौज गर्नु बाहेक अन्य विषयमा कही नबोलेका हुनाले तनहुँ र चितवनमा कांग्रेसका र सत्ता गठबन्धका साझा उम्मेदवारलाई दुवै ठाउँमा रास्वपाका उम्मेदवारले नराम्रोसँग पराजित गरेर आफूलाई बैकल्पिक शक्तिको रुपमा उभ्याएका छन् ।
पुराना दलले सत्ता प्राप्तिका लागि जसरी आफ्नो नीति, सिद्धान्तलाई छोडेर सत्ताभोगमा लागे त्यसरी नै नयाँ दलहरु पनि हतार हतारमा सत्ता भोगमा नै लाग्नु भनेको किमार्थ उचित हुन सक्दैन । नयाँ दलहरुले पुरानाले सक्दैनन् सकेनन् हामी सक्छौँ, गछौँ भन्नु बाहेक अन्य केही गरेको र उनीहरुको कुनै ठोस कार्यक्रम समेत देखिएको छैन । हामी नै विकल्प हाँै भनेपनि तिनले पनि जनतालाई भरोसायोग्य विकल्प दिन सकेको देखिएको छैन । राजनीतिमा लागेपछि सत्ता भोगको लागि लाग्नु अन्यथा होइन तर तिनले विर्सन नहुने कुरा के हो भने मुद्दा अनि राजनीतिक सिद्धान्त र जग विनाको सत्ता प्राप्तिको दौडले लोकतन्त्रको संस्थागत विकासलाई बल पु¥याउन सक्दैन । निर्वाचनलाई सत्ता हतियारको माध्यम मात्र बनाउन खोज्दा लोकतन्त्र बलियो हुन सक्दैन । बरु त्यसबेला लोकतन्त्रकै खिल्ली उड्छ । त्यसैले परम्परावादी र नयाँ दलहरुले बेलैमा सच्चिएर त्यसतर्फ ध्यान पु¥याउनु आवश्यक रहेको छ ।
यस पटकको उपनिर्वाचनको परिणामले सत्ता समिकरण र राजनीतिमा खासै असर नपर्ने भएपनि परम्परावादी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई भने राम्रो पाठ सिकाएको हुनुपर्दछ । रास्वपाको जिल्ला तहमा कुनै कमिटीहरु समेत गठन भएका छैनन् । उसका कुनै पनि भातृ संगठन समेत रहेका छैनन् । प्रदेशसभामा उसले आफ्ना उम्मेदवार नै उठाएको छैन ।

प्रदेशसभा मुलुकको लागि बोझ भएको भन्दै प्रदेशसभा खारेज हुनुपर्ने उसको अडान रहेको छ । तर जिल्ला तहमा संगठन भएका र धेरै भातृ संगठनहरु समेत भएका कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले समेत आफ्नो उम्मेदवारलाई मत दिएनन् आखिरी किन ?
सत्ता गठबन्धनका उम्मेदवारलाई नराम्रोसँग जनताले पराजित गरिदिएकाले गर्दा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई जनताले पत्याएको देखिएन । नेपाली कांग्रेसले आफ्नो पार्टीको नीति, सिद्धान्त र विचारलाई पुष्पकमल दाहालको पाउँमा बुझाएकोले गर्दा पनि कांग्रेसकै नेता तथा कार्यकर्ताहरुले कांग्रेसका उम्मेदवारलाई मत दिएनन् ।

सत्ता गठबन्धनमा रहेका १० दलका उम्मेदवार दुई निर्वाचन क्षेत्रमा पराजित हुनु भनेको सत्ता गठबन्धनकै असफलताको धोतक हो । अब कांग्रेस र एमाले सच्चिएर अघि बढ्न नसकेको खण्डमा उनीहरुपनि सकिने नै हुन् । त्यसैले गर्दा कांग्रेसले आफ्नो हैसियत अनुसार अहिलेको सत्ता गठबन्धनबाटबाहिर आएर नेकपा एमालेको सहयोग र समर्थनमा सत्ताको नेतृत्व लिएर जनताको सेवामा लाग्नु नै राष्ट्र र जनताको हितमा हुने प्रष्ट रुपमा देखिन्छ । त्यसैले अब कांग्रेस, एमाले मिल्नुको विकल्प रहने । अहिलेको लोकतन्त्रलाई कसैबाट संकट छ भने नेताहरुबाट संकट देखिन्छ । सत्ता मोह र व्यक्तिगत स्वार्थले गर्दा लोकतन्त्र नै संकटमा पर्ने सम्भावना समेत देखिएको छ । त्यो पनि नेताहरुकै कारण ।

 

footer