kumari
stcnepal

नेपाललाई एक सय ५८ रनको लक्ष्य

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) बाट एक सय ५८ रनको लक्ष्य पाएको छ । टस जिती पहिलो ब्याटिङ रोजेको यूएईले ४४ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रन बनायो । यूएईलाई सामान्य स्कोरमा समेटन नेपाली बलर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे ।

उनी एक्लैले ६ विकेट लिए । उनले १० ओभरमा केवल ४० रन खर्चिएका थिए । श्याम ढकालले दुई विकेट लिए । कुशल मल्लले एक विकेट लिए । पवन सर्राफले पनि एक विकेट हात पारे । पहिले ब्याटिङ गरेको यूएईका लागि ओपनर ब्याट्सम्यान लभप्रित सिंहले अर्धसतक बनाए । उनले टोलीका लागि ५२ रनको योगदान गरे । उनले ८२ बलको सामना गरी एक छक्का र ६ वटा चौका पनि हिर्काएका थिए ।

नेपाल र यूएई दुबै टोली उपाधि होडबाट भने बाहिरिइसकेका छन् । समूह ‘बी’ बाट भारत र पाकिस्तान नकआउट चरणमा पुगिसकेका छन् । बुधबार दिउँसो हुने समूहगच रणको अन्तिम खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । दुबै टोली समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने योजनामा छन् ।

समूह ‘ए’ बाट भने दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेश नकआउट चरणमा पुगिसकेका छन् । चार—चार अंक जोडेको श्रीलंका पहिलो र बंगलादेश दोस्रो हुँदै सेमिफाइनलमा पुगेका हुन् । चार अंक नै जोडे पनि श्रीलंका र बंगलादेश सँग नेट रन रेटमा पछाडि परेको अफगानिस्तान समूहगत चरणबाटै बाहिरिएको थियो । चौथो स्थानमा रहेको ओमानले भने एक खेल पनि जित्न सकेन ।

 

footer