गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिन्दु छन्, राजा छन्, हिन्दुराष्ट्र र राजतन्त्र छैन

182
shares

 

विश्वमा हजारौं धर्म र आस्थाहरु रहेका छन् । ८५ प्रतिशत विश्वजनसंख्या धर्ममा विश्वास गर्छन् । इसाई २.३८ बिलियन, इस्लाम १.९ विलियन, अन्य मुख्य धार्मिक जनसंख्यामा हिन्दु, बुद्धिजम, जुडिसियन रहेका छन् । अन्यमा सिन्तो, ताओइजम, सिखइजम, जैनिजम १.२ विलियन रहेका छन् ।
मुख्यतः बौद्ध, इसाई, इस्लाम धर्म नै रहेका छन् । स्याम्युअल पी. हन्टिङटनका अनुसार अहिलेको अवस्थामा प्रमुख धार्मिक परम्पराहरुका अनुयायीहरुको जनसांखिक अनुपातको प्रतिशत यसप्रकार रहेकोछः पश्चिमी ईसाई २९.९ प्रतिशत, अर्थोडक्स ईसाई २.४ प्रतिशत, स्लाम १९.२ प्रतिशत, गैरधार्मिक १७.१ प्रतिशत, हिन्दू १३.७ प्रतिशत, वौद्ध ५.७ प्रतिशत, लोक चीनियाँ २.५ प्रतिशत, कबिलाई १.६ प्रतिशत र नास्तिक ४. प्रतिशत। ।
यी मध्ये नेपाल विश्वमै एक्लो हिन्दुराष्ट्र थियो । भएको हिन्दु राष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गरेर पार्टीहरुले देशको पहिचान मेटाइदिए ।
राजाले निर्माण गरेको नेपालमा राजा छन्, राजतन्त्र छैन । ९४ प्रतिशत ॐकार परिवार छन्, हिन्दुराष्ट्र छैन ।
२०६५ सालमा अवैधानिक रुपमा राजतन्त्र हटाउनेहरुलाई २०८२ फागुन २१ को चुनावमा जनताले किनारा लगाइदिएका छन् । किनारा लगाएकै मध्येको प्रजातान्त्रिक नेपाली कांग्रेसका पूर्वसभापतिले म हिन्दु हुँ, हिन्दु हुँ भन्दै सनातन हिन्दुराष्ट्रको पक्षमा बोलेपछि नयाँ पार्टीले सम्हालेको सत्ताको बागडोरबाट संविधान संशोधन गर्ने तैयारी गरिएको छ र यहीकारण नेपाल पुनः हिन्दुराष्ट्र बन्नसक्ने सम्भावना देखिएको छ ।
हुन त केही वर्षअघिदेखि नै नेपाली कांग्रेसका हजारभन्दा बढी महासमिति सदस्यहरुले नेपाल हिन्दुराष्ट्र र राजतन्त्र पुनस्र्थापनाको बहस छेडिरहेका थिए । लाग्छ, जसले हिन्दुराष्ट्र र राजतन्त्रलाई किनारा लगाएर पश्चिमाको लहैलहैमा धर्मनिरपेक्ष गणतन्त्र घोषणा गरेका थिए, तिनीहरुको राजनीतिक पतनसँगै नेपालको ऐतिहासिक गौरव पुनस्र्थापना हुने मोडमा राजनीति आइपुगेको छ ।
हुन त नेपाल निर्माताका सन्तानले राजतन्त्र हुनुपर्छ भन्ने माग गरेका छैनन् । २०६३ साल वैशाख ११ गते भारतका प्रतिनिधि बेदान्तशास्त्री करण सिंहकै साक्षी रोहबरमा नेपालका पार्टीहरुले राजतन्त्रको निरन्तरता रहने गरी मरेको संसद राजाबाट व्यूँताउन लगाएका थिए । तर राजा त्यही अडानमा आज पनि छन्, पार्टीहरुले आफ्ना कबुल इन्कार गरेर राजनीतिक बेइमानी गरिरहे । यही बेइमानीको परिणाम हो, आजको लथालिङ्ग नेपालको अवस्था ।
२०६३ सालपछि राजासँग राजनीतिक बेइमानी गरेका राजनीतिक दलहरु एमाले, कांग्रेस, माओवादीले आलोपालो सरकार चलाइरहे । लोकतन्त्रलाई लूटतन्त्र बनाइरहे । यी सबैको लेखाजोखा जनताले हिसाव राखेका थिए । जेनजी बिद्रोह, त्यसपछिको निर्वाचनमा जनताले १७ वर्ष जालझेलपूर्ण शासन गर्ने दलहरुलाई डाँडा कटाइदिए ।
रास्वपा र बालेन साह तिलस्मी तरिकाले चुनाव जित्नपुगे । प्रधानमन्त्री बने ।
यी दुवैको लहलहाउँदो राजनीतिक बालीलाई फाँड्न प्रतिपक्षी पुराना दलहरु कम्मर कसेर लागेका छन् । रास्वपाले भ्रष्टाचार त गरेको छैन तर राजनीतिक कमीकमजोरी गर्दै गएकाले तिनै विषयलाई तीलको पहाड बनाएर विपक्षीहरुले आलोचना गरिरहेका छन् । विपक्षीको आलोचना हेर्दा रास्वपा र बालेन साहको लोकप्रियतावाद ह्रासोन्मुख भएको देखिन्छ । यद्यपि युवा र आमासमूहले रास्वपा र बालेन साहप्रति विश्वास गढाएकै छन् । अझै विपक्षीहरु सार्वजनिक जीवनमा उत्रन नसक्नुले रास्वपा र बालेनको क्रेज घटेको मान्न सकिदैन ।
हिजो प्रश्न गर्ने ठाउँमा थिए रास्वपा र बालेनहरु । आज जवाफ दिने जिम्मेवारीमा छन् । त्यो जिम्मेवारीको बोझ सम्भवत भदौ १० देखि संसद, सडक, सरकार, सामाजिक सञ्जाल सबैतिरबाट रास्वपा र बालेनले दिनुपर्नेछ ।
गणतन्त्रले राजतन्त्रलाई नागार्जुनको जंगलवासमा पु¥याएको थियो । एउटा असल नागरिकले झैं पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको सीमामा आफूलाई बाँधेर राखेका छन् । राजनीतिक दल र नेताहरुको असफलताले राजतन्त्रको लोकप्रियतालाई बढाइनै रहेको छ । यद्यपि पूर्वराजाले राजा हुन्छु भन्ने महत्वकांक्षा देखाएको देखिन्न । यहीकारण विप्लवजस्ता अतिवादी, गणतन्त्रवादी, सर्वहारावादीले समेत राजा ज्ञानेन्द्रको जस्तो त्याग कुन चाहिं नेताले गर्न सकेका छन् भन्ने विचार राखेको हुनसक्छ ।
१२ वर्षमा खोलो पनि फर्कन्छ भनिन्छ । १७ वर्षपछि भए पनि नेपालको प्रजातन्त्रको बिडा उठाएको भनिने नेपाली कांग्रेसले राजतन्त्र र हिन्दुराष्ट्रको छानो खोज्ने संकेत गरेको छ । वीपीका सच्चा अनुयायी भन्ने देउवालगायतका कांग्रेसीहरु आफ्नो खस्केको राजनीतिक साख यही वीपीको नीतिमार्फत फर्काउन खोजेको देखेर कांग्रेस इतरका विपक्षीहरुको सातो गएको देखिन्छ । उनीहरु अनेक संशय गरिरहेका छन् ।
राजतन्त्र, राजतन्त्र भन्दाभन्दै राप्रपा भाँडियो । कमलथापादेखि राजेन्द्र लिंगदेनसम्मले राजतन्त्रको नीति, सिद्धान्त र निष्ठालाई राजनीतिक स्वार्थमा साटे । राजतन्त्रको मौलो बोक्छु भनेर पूर्वमन्त्री केशर विष्ट, नवराज सुवेदीहरु अघि सरेका थिए, उनीहरु पनि थकित भएर ओथारो बस्नपुगे । ६ दर्जनभन्दा बढी राजतन्त्र र हिन्दुवादी संगठनहरु एक हुन सकेनन् । पछिल्लो समय दुर्गा प्रसाईले राजतन्त्रलाई मेन न्यूजमै पु¥याएका थिए । उनको अतिवादी बोलीव्यवहारलाई उनलाई यति धेरैपल्ट पक्राउ गर्ने र छोड्ने क्रमले थिलथिलो बनाइसकेको छ । दुर्गा प्रसाईले लघुबित्त, मिटरव्याज, सहकारी पीडितदेखि सुकुम्वासी समस्यालाई जोडतोडले उठाएकै हुन् । आमनागरिकले उनलाई साथ पनि दिएकै हुन् । यति हुँदा पनि उनी भारतका हुन् कि अन्य मुलुकका लागि उफ्रिरहेका छन् भन्ने प्रश्न उभ्याइदियो । जसले गर्दा पछिल्लो पल्ट राप्रपाबाट फुटेका धवलशमशेर जबराले राजतन्त्र र हिन्दुराष्ट्र ब्यूँताउन जय नेपाल पार्टी गठन गर्न प्रयास गरे, यसमा दुर्गा प्रसाई पनि जोडिए । निर्वाचन आयोगमा दर्ता गर्न जानुअघि दुर्गाले फेरि मुख फोडे– राणाहरु हुन्जेल नेपालमा राजतन्त्र फर्कदैन । त्यसपछि दुर्गा एक्ला भए, धवलशमशेर पार्टी चलाउन अग्रसर भएका छन् ।
यी सबै राजतन्त्र र हिन्दुवादीलाई पूर्वराजाले उफारेको भन्ने आक्षेत्र राजनीतिक दलहरुको थियो । ती आक्षेपहरु पानीका फोकका झैं उठे, फुटे । अहिले आएर नेपाली कांग्रेस नै अग्रसर भएकाले सत्ता स्वार्थमा हराएको वीपीको नीति जागृत हुने आशा पलाएको छ ।
२०६५ सालदेखि २०८२ सालसम्म जनताले अनेकपल्ट राजतन्त्रसहितको प्रजातन्त्रमा जोड दिइरहेका थिए । जनताको आवाज पार्टीहरुले एउटा कानले सुनेर अर्को कानले उडाइदिए । जनतामा आक्रो बढ्दै गयो । क्षेत्र क्षेत्रमा अभिनन्दन गरेर राजा आउ देश बचाउ भन्ने नारा जनताले लगाएकै हुन् । यसलाई पनि बेवास्ता गरे दलहरुले । दलहरुले जनअपेक्षा होइन, लोकतन्त्रलाई लूटतन्त्रमा रुपान्तरण गरे । जसको परिणति जेनजी आन्दोलन, बिद्रोह भयो । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खरानी हुनपुग्यो । शासक र नेताहरुको भागाभाग भयो । त्यसपछिको चुनावमा जनताले नयाँ पुस्तालाई ऐतिहासिक जनादेश दिएका हुन् ।
त्यही सत्ता हो, रास्वपाको, त्यही सरकार हो बालेन साहको ।
आर्यघाटमा पुगिसकेको संविधानको संशोधन र राजतन्त्र तथा हिन्दुराष्ट्रको पुनस्र्थापनाको माग ।
यसका लागि जनताले, विचारक र बुद्धिजीवीहरुले सुझाव दिएका छन् । त्यही सुझावमाथि नेपाली कांग्रेसले आफ्नो राजनीतिक रणनीति मिसाइदिएको छ । यदि कांग्रेसले आफ्नो यो नयाँ रणनीतिमा कायम रह्यो भने कांग्रेस फेरि उठ्नसक्छ, कांग्रेसले नेपाल र नेपालीको मन जित्नसक्नेछ । नेपाली पहिचान बचाउन सक्ने देखिन्छ ।
गणतन्त्र भएर लोकतन्त्र हुने होइन रहेछ । लोकजीवनमा जुन तन्त्र भिज्न सफल हुन्छ, त्यही लोकतन्त्र हो । बोल्न पाउनु लोकतन्त्र होइन, लोकले बोलेको सुनवाई हुने पद्धति लोकतन्त्र हो । २०६५ सालमा आएको लोकतान्त्रिक जिनिस, भ्रष्टाचारको पोखरी बन्नपुग्यो । जुन पोखरीको फोहर पानीका हरके प्रधानमन्त्री, मन्त्री, प्रशासकहरुले डुबुल्की मारे, फोहरी भए । जसका कारण जेनजी बिद्रोह हुनपुग्यो, भ्रष्टहरुको चरित्रको मृत्युघण्टा यतिखेर हामी सुनिरहेका छौं । राजतन्त्र, हिन्दुराष्ट्र र राष्ट्रवादी प्रजातन्त्र अब राष्ट्रसँग जोडिनुपर्छ, पद्धति बन्नुपर्छ । जनताको चाहना यही हो । जनता राष्ट्र हुन्, राष्ट्रको चाहना पूरा हुनुपर्छ ।
हिन्दु छन्, राजा छन्, हिन्दुराष्ट्र र राजतन्त्र छैन । यो तिक्तता अब मेटिनुपर्छ ।
देशले हिन्दुराष्ट्र, राजा, राष्ट्रवाद र प्रजातन्त्र सबै पाउनुपर्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports