कांग्रेस मन्त्रीहरू– सोचेअनुसार काम हुन सकेको छैन
वि.सं.२०८१ माघ ३ बिहीवार १३:०५
shares

काठमाडौँ । कांग्रेसबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरूले सोचे अनुसार काम गर्न नसकेको र अप्ठ्याराहरू बाँकी रहेको ब्रिफिङ गरेका छन् ।
सभापति देउवा निवास बूढानीलकण्ठमा जारी कांग्रेस संसदीय दल कार्यसमिति बैठकमा बोलाइएका मन्त्रीहरूले आफ्नो मन्त्रालयमा भइरहेका काम बारे ब्रिफिङ गरेका हुन् ।बैठकबाट निस्किएका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रीहरूबाट प्रत्येक मन्त्रालयको विस्तृत जानकारी गराउने काम भइरहेको बताए । जसमा कस्ता काम भए‚ के राम्रा काम भए र भविष्यमा कसरी काम गर्दै मन्त्रालयलाई प्रभावकारी बनाउने भन्ने विषय सभापति लगायत नेताहरूसँग ब्रिफिङ भइरहेको उनको भनाई छ ।
मन्त्रीहरूले काम गर्ने जुन सोचका साथ अघि बढे पनि अझैपनि यसमा समस्या रहेको ब्रिफिङ गरेको उनले बताए । नेताहरूले पनि यसका लागि कसरी समाधान गर्न सकिन्छ भनेर उपाय दिएको उनले जानकारी दिए । ‘सिधै अप्ठ्यारो भएको जस्तो लाग्दैन । तर सोचे अनुसारको काममा जति चाँडो हुनुपर्ने जति अगाडि बढ्नुपर्ने त्यो कुरा कहीँ न कहिबाट समस्या भएको महसुस गरेका छन्‚’ उनले भने‚ ‘तर‚ हाम्रा नेताहरू मिलेर त्यसलाई समाधान गर्ने उपायहरू बताइरहनुभएको छ ।’



































