राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रियसभाले पारित गर्यो खेद प्रस्ताव
वि.सं.२०८१ फागुन ५ सोमवार ०८:२२
shares

काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)को अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ ।
आइतबार दिउँसो बसेको राष्ट्रिय सभा बैठकले शाहीले राष्ट्रिय सभाको कामकारवाहीबारे सामाजिक सञ्जाल फेसबुकमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रस्ताव पारित गरेको हो ।पारित खेद प्रस्तावमा भनिएको छ, ‘पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज माननीय सदस्यले कपोकल्पित, झुठ र यथार्थ भन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकोले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ । आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ ।’
बैठकले सांसद शाहीलाई आगामी दिनमा अभिव्यक्ति दिदाँ गम्भिर भएर दि पनि निर्देशन दिएको छ । निर्देशनमा भनिएको छ, ‘आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ ।’‘राप्रपाका प्रमुख सचेतक शाहीले सामाजिक सञ्जाल फेसबुकमा ‘राष्ट्रिय सभा वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र’ भन्दै अभिव्यक्ति दिएका थिए । उनले राष्ट्रिय सभाको कुनै औचित्य नरहेको भन्दै वृद्धाश्रम जान लागेका बाजेलाई धन्काउने थलो भएकाले राष्ट्रिय सभाको अन्त्य गर्नु नै अबको आवश्यकता भएको टिप्पणी गरेका थिए ।

































