कस्तो रहला आज शुक्रवारको मौसम : देशभर मनसुनी वायुको प्रभाव यी प्रदेशमा भारी बर्षाको सम्भावना
वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५
shares

काठमाडौं । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । देशका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति भने कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा, बागमती प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भागका केही, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रहरूमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आग्रह गरिएको छ । यसका साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात एवं उद्धार र राहतमा पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन र महाशाखाको पछिल्लो सूचनामा अद्यावधिक रहन अनुरोध गरिएको छ ।



































