रसुवामा ठुलो मात्रामा सुन बरामद, एक जना पक्राउ
वि.सं.२०८२ जेठ ४ आइतवार १९:०७
shares

रसुवा । रसुवामा ठुलो परिमाणमा तस्करीको सुन सहित एक जना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाले उक्त सुन बरामद गरेको हो । बरामद सुनको तौल कार्य भइरहेको र परिमाणबारे विस्तृत विवरण खुलाइएको छैन । तर, सो सुन ७ केजी भन्दा बढी रहेको अनुमान गरिएको छ ।
केरुङबाट काठमाडौंतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा सो सुन भेटिएको हो । उक्त गाडीका चालक २४ वर्षका किशोर भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी पनि रसुवाकै हुन् । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करीविरुद्ध प्रहरीको निगरानी बढेसँगै उत्तरी नाकाबाट सुन तस्करीको क्रम बढेको छ । विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरूलाई प्रयोग गरी सानो परिमाणमा सुन सङ्कलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोको परिमाणमा तस्करी हुने गरेको छ । तस्करीको अधिकांश सुन भारततर्फ जाने गरेको प्रहरीको भनाइ छ ।



































