रवि लामिछानेको पार्टीले बनाएको सिस्टमलाई स्विकारेर जान उम्मेदवारका आकांक्षीहरूलाई सुझाव
वि.सं.२०८२ भदौ १५ आइतवार १६:०२
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले बनाएको सिस्टमलाई स्विकारेर जान उम्मेदवारका आकांक्षीहरूलाई सुझाव दिएका छन् ।
पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार घोषणा गर्नुअघि रविलाई भेट्न उम्मेदवारका ९ जना आकांक्षीहरू आइतबार ललितपुरस्थित नख्खु कारागार गएका थिए ।सामूहिक रूपमा भेट्न खोजेका उनीहरूले प्रशासनले एक पटकमा दुई दुई जनालाई मात्र भेट्ने अनुमति दिएका थिए । रविलाई सँगै भेटेर बाहिरिएका आकांक्षी पाथिवेन्द्र उपाध्याय र सुलभ खरेलले पार्टीले बनाएको सिस्टमलाई मानेर जान सुझाव दिएको बताए ।
‘रविजीले तपाईंहरु सबै जना क्षमतावान हुनुहुन्छ । पार्टीले उम्मेदवार छनोट पद्धति बनाएको छ । त्यसलाई फलो गरेर जानोस् । सिस्टमबाट ९ जनामध्ये जो निर्वाचित भए पनि उम्मेदवारलाई निर्वाचनमा पूर्ण सहयोग गर्नोस् । तपाईंहरु उपनिर्वाचन मात्र होइन, २०८४ सम्मै मिलेर जानोस् । त्यतिबेलासम्म सबैको व्यवस्था हुँदै जान्छ भन्नुभयो’, उनीहरूले भने ।जवाफमा उपाध्याय र खरेलले पार्टीले बनाएको सिस्टम मानेर जान हामीलाई कुनै अप्ठ्यारो छैन । जो जितेर आए पनि उसलाई पूर्ण सहयोग रहनेछ भनेर आफूले भनेको जिकिर गरे । उम्मेदवार घोषणा कार्यक्रममा आजै मात्र काठमाडौँ आएकाले सभापतिलाई भेटौन भनेर गएको उनीहरूले स्पष्ट पारे ।
यता लुम्बिनी प्रदेशका इन्चार्ज तथा सहमहामन्त्री विपिन आचार्यले मध्यस्थता गर्न वा सहमतिमा उम्मेदवार छनोटका लागि रविलाई भेट्न नगएको दाबी गरे । ‘उहाँहरू रुपन्देहीबाट काठमाडौँ आएको बेला सामूहिक भेटौँ न भनेर भेटेका हुन् । उम्मेदवारका आकाङ्क्षीहरू भन्दा पहिला पार्टीका तर्फबाट मैले पनि भेटेको थिएँ । पार्टीले बनाएको सिस्टमभन्दा बाहिर गएर दायाँबायाँ हुँदैन’, उनले भने । साउन २२ गते उम्मेदवार घोषणा गर्ने बेलामै ९ जनामध्ये जो निर्वाचित भए पनि उपनिर्वाचनमा बागी नउठ्ने लिखित प्रतिबद्धता जनाएका थिए ।






























