एनपीएल : लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राख्यो
वि.सं.२०८२ मंसिर १७ बुधवार १९:३५
shares

काठमाडौं । अष्ट्रेलियन डार्शी सर्टले पहिलो अर्धशतक प्रहार गरेपछि लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार विराटनगर किंग्सलाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ ।
विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।लुम्बिनीले ६ खेलमा तेस्रो जित निकालेको हो । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनी चौथो स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल जनकपुर बोल्ट्ससँग शुक्रबार खेल्नेछ । उक्त खेल जित्दै अन्य खेलको नितजा आफू अनुकुल आएमा लुम्बिनी प्लेअफ पुग्नेछ ।
अर्कोतर्फ विराटनगरले भने ६ खेलमा दोस्रो हार व्यहोरेको छ । ६ खेलबाट ८ अंक रहेको विराटनगर तेस्रो स्थानमा छ । तर, विराटनगरले लिगमा आफ्नो अन्तिम खेल आउने शनिवार प्लेअफ पुगिसकेको सुदूरपश्चिम रोयल्सँग खेल्नेछ । त्यसअघि हुने अन्य खेलको नतिजापछि विराटनगरलाई प्लेअफ पुग्न कस्तो नतिजा चाहिन्छ थाहा हुनेछ ।
लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ५७ रन बनाए । उनले ४४ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।विकेटकिपर निरोशन डिकवेलाले अविजित २९ रन योगदान गरे । सन्दीप जोराले २४ र दिलीप नाथले १६ रन जोडे । सर्टले पहिलो विकेटका लागि सुमित महर्जनसँग २९ रनको साझेदारी गरे । त्यसपछि आएका कप्तान रोहित पौडेल खाता नखोली आउट भए । त्यसपछि सर्टले सन्दीप जोरासँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे ।
सर्टले १४औं ओभरमा आउट हुनुअघि निरोशन डिकवेलासँग ४६ रनको साझेदारी गरे । सर्ट आउट भएपछि डिकवेलाले लुम्बिनीलाई जितसम्म पुर्याएका हुन् । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओरभमा २० रन खर्चेर २ विकेट लिए । सुभाष भण्डारीले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।






































