स्थापित राजनीतिक दलहरूलाई घरबाट निस्कनै दिँदैनौँ भन्ने माकाफुइँलाई विफल बनायौँ : अध्यक्ष ओली
वि.सं.२०८२ पुस २६ शनिवार १३:२३
shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थापित राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिनै नदिने र घरबाट बाहिर निस्कनै नदिने दाबी गर्ने माकाफुइँलाई विफल बनाइएको जिकिर गरेका छन् । दोस्रो केन्द्रीय कमिटी बैठकमा देशको अवस्थाबारे ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जेनजी आन्दोलनपछि बदनियतपूर्ण तवरले आफूमाथि लगाइएको आरोपको डटेर सामना गरेको पनि उल्लेख गरे । एमालेलाई कमजोर बनाउन आगामी दिनमा हुन सक्ने यस्ता खालका आक्रमणको डटेर सामना गर्नुपर्ने उनको भनाइ थियो ।राजनीतिक ध्रुविकरणबढेको र एकतिर नयाँ दल, अर्कातिर पुराना दल भएको चर्चामा पनि सत्यता नरहेको उनको भनाइ थियो । ‘जेनजी आन्दोलनका विध्वंसका पक्षधर एकठाउँमा उभिएका हुन्, यसको विरोध गर्नेहरु अर्को ठाउँमा उभिने अवस्था आउन सक्छ’, ओलीले भने ।
फरक प्रसंगमा ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गरेकै आधारमा जिम्मेवारी वाँडफाटमा कुनै विभेद नगरिने उल्लेख गरे । सिंगो पार्टी एक भएर निर्वाचनमा जानुपर्नेमा ओलीले जोड दिए ।तीन दिनका लागि भनेर बोलाइएको एमालेको केन्द्रीय कमिटी बैठक आज एकै दिनमा सक्ने तयारी छ । बैठकमा महाधिवेशनमा निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र दिने, पार्टीको नियमावली प्रस्तुत गर्ने तयारी छ ।



































