प्रधानमन्त्री राष्ट्रसंघीय महासभामा भागलिन जादाँ विमानस्थलमा सलामी नलिने बिदाई समेत नगरिने
वि.सं.२०८३ असोज ६ मंगलवार ११:४४
shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्दैछन्। उनको यस विदेश भ्रमण प्रस्थानका क्रममा विगतभन्दा फरक र नौलो दृश्य देखिने भएको छ।
भ्रमण प्रस्थानका अवसरमा उनले नेपाली सेनाको सलामी लिने छैनन् भने मन्त्री तथा उच्चपदस्थ सरकारी कर्मचारीहरूको लाम लागेर बिदाइ गर्ने परम्परा पनि यसपटक देखिने छैन।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री विदेश जाँदा र फर्कंदा विमानस्थलमा पदाधिकारी तथा कर्मचारीहरूको लर्को लागेर बिदाइ एवं स्वागत गर्ने पुरानो शैलीलाई अब निरन्तरता नदिइने भएको हो।
न्युयोर्क प्रस्थान गर्ने दिन पनि प्रधानमन्त्री शाह बिहानैदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित कार्यसम्पादनमा व्यस्त रहेका छन्। उनी आज साँझ करिब ६:१५ बजे बालुवाटारस्थित सरकारी निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लाग्नेछन्। प्रधानमन्त्री पुग्नुअघि नै भ्रमण दलका अन्य सदस्यहरू विमानस्थल प्रवेश गरिसक्ने तालिका छ।
प्रधानमन्त्री शाह भीआईपी मार्ग हुँदै सिधै जहाजमा प्रवेश गर्नेछन्। भीआईपी कक्षमा समय नबिताई उनी जहाज चढेलगत्तै उडान हुने बताइएको छ।प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उनी साँझ करिब ७ बजे अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका चुनौतीहरू तथा जलवायु न्यायका पक्षमा नेपालको आधिकारिक धारणा प्रस्तुत गर्नेछन्।
विगतमा सरकार प्रमुखको भ्रमणका क्रममा नियमित काम छाडेर उच्च अधिकारी तथा कर्मचारीहरू विमानस्थल पुग्ने र अनावश्यक भीडभाड हुने गरेको थियो। तर, यसपटक त्यस्तो तामझाम पूर्ण रूपमा हटाइएको छ। मुलुक विपद्को अवस्थामा रहेको र अनाहकको औपचारिकता अन्त्य गर्ने सोचअनुरूप यस्तो निर्णय लिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।


































