रूसको संसदीय निर्वाचनमा राष्ट्रपति पुटीनको पार्टीलाई दुई तिहाई भन्दा बढी मत प्राप्त
वि.सं.२०८३ असोज ६ मंगलवार ११:३५
shares

काठमाडौं । रुसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको ‘युनाइटेड रसिया’ पार्टीले दुईतिहाइभन्दा बढी बहुमत हासिल गरेको छ ।
लगभग पूर्ण आधिकारिक नतिजाअनुसार कडा नियन्त्रण र सीमित विपक्षी सहभागिताबीच सम्पन्न निर्वाचनमा युनाइटेड रसियाले ५७.८३ प्रतिशत मत पाएको छ । पार्टीले ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’मा ३५५ सिट जितेको अलजजिराले जनाएको छ ।
आइतबार सकिएको तीनदिने मतदानपछि सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार, युनाइटेड रसियाले सन् २०२१ को निर्वाचनमा पाएको ४९.८ प्रतिशत मतभन्दा उल्लेख्य रूपमा बढी मत प्राप्त गरेको हो । सन् २००१ मा गठन भएदेखि रुसी राजनीतिमा वर्चस्व कायम गर्दै आएको यो पार्टीले स्टेट डुमामा संवैधानिक बहुमत कायम गरेको छ ।
सन् २०२२ मा रुसी सेनाले युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेपछि भएको यो पहिलो संसदीय निर्वाचन हो । साथै, रुसले सन् २०२२ मा कब्जा गरी रुसमा गाभेको दाबी गरेका चार युक्रेनी क्षेत्रका बासिन्दालाई मतदानमा सहभागी गराइएको पनि यो पहिलो संसदीय निर्वाचन हो ।
केन्द्रीय निर्वाचन आयोगकी अध्यक्ष एल्ला पाम्फिलोभाले रुसमा दर्ता भएको एकमात्र युद्धविरोधी पार्टी ‘याब्लोको’ले राष्ट्रिय स्तरमा कुनै पनि सिट नजितेको बताएकी छन् । रुसको सर्वोच्च अदालतले गत महिना याब्लोकोलाई पार्टीगत मतपत्रबाट हटाएको थियो । त्यसपछि पार्टीका केही दर्जन उमेदवार मात्र एकल निर्वाचन क्षेत्रमा प्रत्यक्ष प्रतिस्पर्धामा थिए ।
यद्यपि, याब्लोको पश्चिमी रुसको नोभगोरोड क्षेत्रको क्षेत्रीय संसदमा प्रवेश गरेको छ । पार्टीले सामाजिक सञ्जालमार्फत करिब १२ हजार मत प्राप्त गरेको जनाएको छ, जुन कुल मतको ६ प्रतिशतभन्दा केही बढी हो र क्षेत्रीय संसदमा प्रवेशका लागि पर्याप्त थियो ।
याब्लोको र कम्युनिस्ट पार्टीले आफ्ना धेरै पर्यवेक्षकलाई मतदान केन्द्रबाट फर्काइएको बताएका छन् । कम्युनिस्ट पार्टीले सरकारका केही नीतिको आलोचना गरे पनि पुटिनको भने सावधानीपूर्वक आलोचना गर्दै आएको छ ।
कम्युनिस्ट पार्टीले १३.८ प्रतिशत मतसहित ४० डुमा सिट जितेको छ । राष्ट्रवादी एलडीपीआरले २५ र ‘न्यू पिपुल’ पार्टीले २० सिट जितेका छन् ।
धेरै रुसी नागरिक निर्वाचनको नतिजाबाट अचम्मित नभएको बताएका छन् । “बिहान मैले युनाइटेड रसिया जित्दै गरेको देखेँ । यो सायद कसैका लागि पनि आश्चर्यको कुरा होइन,” मस्को निवासी तात्यानाले भनिन् ।
युद्ध जारी रहँदा सर्वसाधारण रुसीको जीवनमा असर पारिरहेका नीतिहरू थप संस्थागत हुने जोखिम रहेको विश्लेषण गरिएको छ । संसदीय दुईतिहाइ बहुमतले त्यस्ता नीतिमा परिवर्तन ल्याउन चुनौती थपिन सक्ने बताइएको छ ।
अनलाइनमा टिप्पणी गर्दै कार्नेगी रसिया युरासिया सेन्टरकी तात्याना स्तानोभायाले पुटिनले युनाइटेड रसियाको नतिजालाई युद्धप्रति जनसमर्थनको पुष्टि रूपमा व्याख्या गर्न सक्ने, तर त्यसलाई वास्तविक जनमतको प्रत्यक्ष प्रतिबिम्ब मान्न नसकिने दाबी गरेकी छन् ।
युरोपेली संघकी उच्च कूटनीतिज्ञ काजा कल्लासले रुसको निर्वाचनलाई कथित निर्वाचन भन्दै अस्वीकार गरेकी छन् ।
“क्रेमलिनले असहमतिलाई दबाएको छ, युक्रेन युद्धको विरोध गर्ने दर्ता भएको एकमात्र पार्टीलाई प्रतिबन्ध लगाएको छ र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकलाई बाहिर राखेको छ । रुसमा प्रजातन्त्रको खोल मात्र बाँकी छ,” कल्लासले भनेकी छन् ।
अस्ट्रेलिया, बेलायत र क्यानडासहित पाँच देशले संयुक्त वक्तव्यमार्फत कब्जा गरिएका युक्रेनी क्षेत्रमा रुसले गराएको निर्वाचनको आलोचना गर्दै त्यसलाई ‘कब्जाको फराकिलो प्रणालीको एक हिस्सा’ भनेका छन् ।


































