सशस्त्र प्रहरीले ल्यायो कल्याणकारी कार्यक्रम सुविधामा वृद्धी
वि.सं.२०८२ माघ १९ सोमवार २२:०४
shares

मुलुकमा चरम द्वन्द्व चलिरहँदा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल २६ वर्षमा प्रवेश गरेको छ । हालै आफ्नो २५ औं रजत महोत्सव मनाएको सशस्त्रले विभिन्न कल्याणकारी कार्यक्रम ल्याएको छ । सशस्त्रले अमर कर्मचारीका परिवारलाई सामाजिक सुरक्षादेखि किरियापुत्री सेवासम्मका कार्यक्रम घोषणा गरेको हो ।
साथै,द्वन्द्वकालमा घाइते वा अंगभंग भएका कर्मचारीलाई रकमसमेत उपलब्ध गराइने भएको छ । अमर वा शहिद कर्मचारीका ७० वर्ष उमेर पुरा भएका परिवार (आमा वा बुवा) मध्ये एक जनालाई वार्षिक १२ हजार सामाजिक सुरक्षा रकम उपलब्ध गराउने कार्यक्रम ल्याइएको छ ।सँगै बहालावाला कर्मचारीलाई सहुलियत ब्याजदरमा उपलब्ध गराउँदै आइएको नगद ऋणलाई निजको सेवा अवधिको आधारमा अधिकतम सिनियर अधिकृतलाई १५ लाखसम्म, जुनियरलाई १२ लाख र बिल्लादार जवान तथा परिचरलाई दश लाखसम्म पुर्याइएको छ ।
यस्तै, एपीएफ स्कुलमा कार्यरत शिक्षक शिक्षिकालाई दिइँदै आएको सहुलियत ब्याजदरको नगद ऋण र किस्ताबन्दीमा इलेक्ट्रोनिक्स सामान थपिएको छ । एपीएफ अस्पतालमा सुविधासम्पन्न ‘पे क्याबिन’ सेवाको थालनी तथा विशेष तालिम प्राप्त सशस्त्रका सन्ततीलाई शैक्षिक वृत्ति दिइने भएको छ ।जसअनुसार ‘स्पेशल ट्रास्क फोर्स’ तालिममा वार्षिक सर्वोत्कृष्ट हुने एक कर्मचारीको कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका एक सन्ततिलाई एक पटकको लागि रजत महोत्सवमा १२ हजार शैक्षिक वृद्धि रकम उपलब्ध गराइनेछ ।
सशस्त्रले किरियापुत्री सेवा पनि शुरु गर्ने भएको छ । बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवम् निजका परिवारजनको मृत्युवरण हुँदा काजकिरिया बस्न विशेष छुटसहितको सुविधा होस् भन्ने हेतुले शौचालयसहितको किरियापुत्री कोठा निर्माण गर्न लागिएको हो ।सशस्त्रका अनुसार काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित विष्णुमति महादेव खोला संगमस्थल तारकेश्वर धाममा रहेको किरियापुत्री भवनमा सम्बन्धित समितिसँग समन्वय गरेर दुई कोठे निर्माण गर्न गरिनेछ । सशस्त्रका बहालवाला सिनियर र जुनियर अधिकृतलाई चार पाङ्ग्रे सवारीसाधन खरिदमा दिइँदै आएको ऋण पनि वृद्धि गरिएको छ ।
यसअघि चार पाङ्ग्रे गाडी खरिदमा २० लाख नगद ऋण दिने गरिएकोमा अबदेखि गाडीको मूल्यका आधारमा ८० प्रतिशतसम्म ऋण उपलब्ध हुनेछ । यस्तै, प्रशिक्षकको पारिवारिक भ्रमण कोटा वृद्धि र विद्युतीय चार्जिङ्ग स्टेशनहरुको स्तरवृद्धि तथा नयाँ स्थापना कार्यक्रम पनि ल्याइएको छ ।सशस्त्रले आउँदो वर्षदेखि ‘वर्ष अधिकृत’ र ‘वर्ष जेसीओएस’ पनि घोषणा गर्ने भएको छ । यसअघि ‘वर्ष जवान’ लाई मात्र पुरस्कार दिइने गरिएको थियो । द्धन्द्धकालमा घाइते तथा अपाङ्ग भएका कर्मचारीलाई एक पटकको लागि दश हजारका दरले १५ जनालाई रकम उपलब्ध गराउने पनि निर्णय भएको सशस्त्रले जनाएको छ ।



































