काठमाडौं बाहिर मतदाता रहेका आफ्ना नेता तथा कार्यकर्तालाई आ-आफ्नो निर्वाचन क्षेत्रमा गएर पार्टीको पक्षमा प्रचार प्रसार गर्न अध्यक्ष ओलीले दिए निर्देशन
वि.सं.२०८२ माघ २२ बिहीवार ०८:५३
shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका कार्यकर्तालाई निर्वाचन प्रचार प्रसारका लागि आफ्नो आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिएका छन् ।
पार्टीको झापा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय निकालेर आफ्ना निर्वाचन क्षेत्रमा जान निर्देशन दिएका हुन् । ‘तपाईंहरु विभिन्न पेशा व्यवसाय गर्न काठमाडौं आउनु भएको छ । अहिले निर्वाचनको माहोल छ’ अध्यक्ष ओलीले भने, ‘समय निकालेर निर्वाचन क्षेत्र जानुहोस् । पार्टीको पक्षमा माहोल बनाउनुहोस् । आफन्त भेट्नुहोस । साथीभाइसँग बस्नुहोस । पार्टी र नेतृत्व विरुद्धका भ्रमहरु चिर्नुहोस् । ’
अध्यक्ष ओलीले जहाजमा यात्रीको रुपमा व्यक्तिले जहाज चलाउँछु भन्ने कुरा असान्दर्भिक मात्र होइन जोखिमपूर्ण पनि हुने बताए । विभिन्न व्यक्तिहरुले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार भन्दै प्रचार गरेकोप्रति व्यंग्य गर्दै अध्यक्ष ओलीले अनुभव नभएका र देश चलाउने सोचै नभएका व्यक्तिहरुबाट यस्तो कुरा सम्भव नहुने बताए ।
‘जहाजमा यात्रुको रुपमा रहेको व्यक्तिले म त जहाजै उडाउन सक्छु भनेर पाइलट सिटमा बस्यो भने के हुन्छ ?’ अध्यक्ष ओलीले प्रश्न गरे, ‘त्यस्तो जहाजमा कोही चढ्लान् त ? झुक्किएर कोही चढिहाले भने उसको अवस्था के होला ? त्यसकारण अहिले सबैले सोचबिचार गरेर निर्णय गर्नुपर्ने समय आएको छ ।’
अध्यक्ष ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा पनि स्वीकार नगर्ने बताए । ‘प्रधानमन्त्रीले हिमालमा हिउँ पर्यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनेँ । यो कुनै हालतमा पनि स्वीकार्य हुँदैन’ उनले भने, ‘पोहोर हिउँदभन्दा अघि जन्मेको बच्चालाई हिउँदमा हिउँ पर्छ भन्ने कुरा थाहा हुन्छ । अनि निर्वाचनको मिति तोक्ने बेलामा थाहा थिएन हिउँदा चिसोले निर्वाचन हुँदैन भन्ने कुरा ?’अध्यक्ष ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताए । ‘निर्वाचनको तयारी निष्पक्ष, मतदान बिना डर त्रास र प्रलोभनमा हुनुपर्दछ’ अध्यक्ष ओलीले भने, ‘मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधिको अनदेखा हुनुहुँदैन । त्यसमा सबै चनाखो हुनुहोस् । ’
अध्यक्ष ओलीले एमालेले निर्वाचन शानदार ढंगले जित्ने भएको सबै कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचारमा लाग्न पनि निर्देशन दिएका छन् । ‘विभिन्न फिरंगीहरु आउन सक्छन् । त्यस्तालाई चिन्नुहोस्’ अध्यक्ष ओलीले भने, ‘हामीले गरेका विकास निर्माणका काम, सुशासनका काम, जनचेतनाका काम जनतालाई भन्नुहोस् । मतदाताको मन जित्ने गरी काम गर्नुहोस् ।’कार्यक्रममा पार्टीका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री अग्नि खरेल लगायतले पनि कार्यकर्तालाई निर्वाचन क्षेत्र केन्द्रित हुन आग्रह गरेका छन् ।
































