अमेरिकी राष्ट्रपति ट्रम्पको हत्याको प्रयास गर्नेलाई अदालतले दियो आजीवन कारावासको सजाँय
वि.सं.२०८२ माघ २२ बिहीवार ०८:५४
shares

दुई वर्षअघि हाल राष्ट्रपति रहेका डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेका व्यक्तिलाई बुधबार अदालतले जेल सजाय सुनाएको छ।
सीएनएनका अनुसार फ्लोरिडामा दोषी ठहरिएका रायन राउथलाई संघीय अदालतले आजीवन कारावासको सजाय सुनाएको हो।उनले सन् २०२४ मा ट्रम्प राष्ट्रपति चुनावको प्रचार अभियान चलाइरहेका बेला ट्रम्पको हत्या प्रयास गरेका थिए।
सन् २०२४ सेप्टेम्बर १५ मा ट्रम्प राष्ट्रपति चुनावका लागि प्रचार गरिरहेका थिए। राउथ ट्रम्पको गल्फ कोर्स नजिकै झाडीहरूमा एके-४७ जस्तो सोभियत शैलीको राइफल र शरीर कवच लिएर लुकेका थिए।गुप्त सेवा एजेन्टले तत्काल देखे र गोली हाने, जसपछि राउथ घटनास्थलबाट भागे। पछि प्रहरीले उनको कारको लाइसेन्स प्लेटका आधारमा उनलाई पक्राउ गरेको थियो।
अदालतले त्यही बेला रायन राउथलाई पाँच अभियानमा दोषी ठहर गरेको थियो, जसमा त्यतिबेला राष्ट्रपति पदका उम्मेदवार रहेका ट्रम्पको हत्या प्रयास पनि समावेश थियो। यो फैसला अमेरिकी जिल्ला न्यायाधीश एलिन क्याननले गरेका थिए।
































