भाद्र २४ गतेको घटनालाई सरकारले ढाकछोप गर्न खोजिरहेको छ : सभापति थापा
वि.सं.२०८३ जेठ १० आइतवार ०८:४२
shares

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको बताएका छन् ।
शनिबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले वर्तमान सरकार भदौ २४ गतेको घटनालाई ढाकछोप गर्न लागिरहेको बताएका हुन् ।भदौ २३ गतेको अप्रिय घटनामा राज्यको कमजोरी रहेको बताउँदै उनले त्यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताए । तर भदौ २४ गते कोइराला निवासदेखि चाक्सीवारी, सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको तोडफोड, आगजनी र हिंसाबारे राज्य मौन बसेको उनले बताए ।
उनले कांग्रेसले विशेष महाधिवेशनपछिको पहिलो बैठकदेखि नै भदौ २४ घटनाको निष्पक्ष छानबिनको माग गर्दै आएको बताए ।थापाले सरकारले सयदिने कार्यक्रम सार्वजनिक गर्दा भदौ २४ गतेको घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको भए पनि हाल त्यसतर्फ कुनै कदम नचालिएको बताए ।
थापाले भने, ‘भदौ २४ गते भएको वितण्डाको हिसाब–किताब हुन अझै बाँकी छ । त्यस दिन भएका घटनाबारे सत्य बाहिर आउनुपर्छ ।’सभापति थापाले मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न माग गरे । उनले आयोगले तत्काल प्रतिवेदन सार्वजानिक गर्नुपर्ने र सरकारले आयोगको प्रतिवेदन कार्यन्वयनमा लैजानुपर्ने बताए ।






































