गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतबाट ल्याउन पाउने सामानको सीमा बढ्यो, अब ५०० सम्मको सामान ल्याउन पाइने

715
shares

काठमाडौं । सरकारले झिटीगुन्टासम्बन्धी व्यवस्थाअनुसार भारतबाट नेपाल आउँदा ल्याउन पाउने सामानको मूल्य ५ सय पुर्‍याएको छ । यसअघि १ सय रुपैयाँभन्दा बढीका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम रहेकोमा नयाँ आर्थिक विधेयकले त्यसमा संशोधन गरी ५ सय पुर्‍याएको हो ।

यसअघि सीमानाकामा सर्वसाधारणले १ सय रुपैयाँभन्दा बढीकाे सामान भारतबाट ल्याउँदा सरकारले समातेर भन्सार तिराउन थालेपछि देशव्यापी विरोध भएको थियो । सरकारले यो बजेटमार्फत यो सीमालाई बढाएको छ ।साथै भारतमा अध्ययन गर्ने विद्यार्थीलाई साथमा लगेको वा ल्याएको एक थान ल्यापटप, ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार महसुल नलाग्ने व्यवस्था पनि गरिएको छ ।सरकारले नेपाली यात्रुले यात्रा गर्दा ल्याउन–लैजान पाउने सामानबारे नयाँ सूची सार्वजनिक गरेको छ । जसमा अधिकांश वस्तु गत वर्षकै दोहोरिएका छन् । केही वस्तु र सीमामा भने फेरबदल गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार नेपालबाट स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कंदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा रहेका सामान पूर्ण महसुल छुटमा ल्याउन दिइने छ ।जसमा आफूले प्रयोग गरेका लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना वस्तु, औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि, शारीरिक अशक्तले सहाराका रूपमा प्रयोग गरेका वस्तु, भन्सार महसुल ऐन २०८१ को अनूसूची ४ को प्रकरण १ मा तोकिएको परिमाणसम्मको सुन तथा सुनका गहना र चाँदी तथा चाँदीका गहना ल्याउँदा महसुल छुट हुनेछ ।त्यस्तै आफूले प्रयोग गरेको ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल एक–एक थानसमेत महसुल नतिरी ल्याउन पाइने छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई लगातार १२ महिना काम गरी फर्केका नेपालीले ल्याएको ६५ इन्चसम्मको टेलिभिजनमा भने महसुल छुट हुनेछ । यसअघिको प्रावधानमा भने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नागरिकले जुनसुकै आकार र प्रकारको एक टेलिभिजन ल्याउँदा छुट थियो भने कोषमा सूचीकृत नभएकाको हकमा ३२ इन्चको टेलिभिजन मात्र छुटमा ल्याउन पाइने सुविधा थियो ।अर्थ मन्त्रालयका अनुसार यस्तो छुट सुविधा एक पटकका लागि मात्र उपलब्ध हुनेछ । यसबाहेक बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल, पेसागत यात्रुले आफ्नो पेसासँग सम्बन्धित वस्तुमा समेत महसुल छुट हुनेछ । मदिरा एक लिटरसम्म र सात किलोसम्मको खाद्य परिकारलाई समेत छुटको सूचीमा राखिएको छ ।

विदेशमा बसेका व्यक्तिले नेपालका आफन्त वा परिवारका सदस्यलाई ५ सय डलरसम्मको वस्तु पठाएमा लाग्ने महसुल लिई जाँचपास हुने भएको छ । तर, यस्तो मूल्यभन्दा महँगो वस्तुलाई सस्तो देखाइ पठाएको पाइएमा सामान जफत, जरिबाना र महसुल तिराउन सक्ने प्रावधान राखिएको छ । यो साविकको नियममा समेत यथावत प्रावधान हो ।यस्तै चुरोट २ सय खिल्लीसम्म वा सिगार ५० खिल्लीसम्म प्रचलित कानुन बमोजिम लाग्ने महसुल लिई जाँचपास गर्न सकिने छ । भारतीय सेना वा प्रहरीबाट निवृत्तिभरण पाउने गरी सेवानिवृत्त भई स्वदेश फर्किएको व्यक्तिले आफ्नो कागजात पेस गरे ५० हजारसम्मको निजी प्रयोगका वस्तुमा पूर्ण छुट हुने भएको छ । जुन साविकमा समेत सोही सीमा तोकिएको थियो ।

कुनै नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको प्रमाणित भए निज र परिवारको निजी प्रयोगका पुराना सबै किसिमका वस्तु स्वदेश फिर्ता ल्याउँदा महसुल छुट हुनेछ । उक्त सूचीमा सवारीसाधन, हातहतियार र खरखजाना भने पर्दैनन् ।अर्थ मन्त्रालयका अनुसार ५० हजार रुपैयाँ मूल्यका सौगातका सामानमा महसुल लाग्दैन । तर, मूल्य अभिवृद्धि कर लाग्ने वस्तुमा बिजक र नलाग्ने वस्तुमा स्थायी लेखा नम्बर भएको बिजक पेस गरे उक्त सीमा नलाग्ने गरी तोकिएको छ । यसअघि पनि सोही नियम थियो ।सम्बन्धित वायुसेवाले यात्रुलाई साथमा लैजान दिने तौलसम्मको नेपाली बजारमा खरिद गरिएका वस्तु समेत आवश्यक कागजात देखाएर वा आवश्यक शुल्क र महसुल तिरी लैजान पाउने व्यवस्था छ ।

गैरआवासीय नेपालीलाई वैदेशिक रोजगारीको सुविधा बाहेक अन्य नेपाली सरह सुविधा उपलब्ध हुने प्रवाधान छ । चालक दलका सदस्यले भने निजी वस्तुबाहेक अन्य कुनै पनि सामान ल्याउन पाउँदैनन् ।हवाई यात्रुले आउँदा/जाँदा निजी प्रयोगका वस्तुमा छुट पाउने छन् । बाइनाकुलर एक थान, ट्याबलेट वा ल्यापटप, भिडियो क्यामरा र क्यामरा एक/एक थान लिएर आउन सक्ने सुविधा छ । पोर्टेवल म्युजिक सिस्टम, लुगाफाटा, साइकल एक, घडी एक, सेलुलर मोबाइल र तोकिएको परिणामसम्मका सुन र चाँदीका गहना ल्याउन समेत छुट हुनेछ ।

पेसाकर्मीका हकमा आवश्यक वस्तु ल्याउन पाउन छुट छ । यो प्रावधानमा यस पटक पावर बैंक थप गरिएको छ । विदेशी यात्रुले एक लिटरसम्म मदिरा वा १२ क्यानसम्म बियर, २ सय खिल्लीसम्म चुरोट र टोबाको २ सय ५० ग्रामसम्म छुट हुने गरी तोकिएको छ । जुन साविकमा समेत सोही प्रावधान थियो । १० हजार रुपैयाँ मूल्यसम्मका औषधि, ५ हजारसम्मका खानेकुरा र २ हजारसम्मका फलफूल समेत ल्याउन पाउने प्रावधान छ ।विदेशी नागरिकले नेपालबाट सौगातका रूपमा लैजान पाउने हकमा नेपालमा खरिद गरेको सामानको सीमा भने नेपालमा विदेशी मुद्रा सटहीको प्रमाण देखाएर लैजान सक्नेछन् । यसबाहेक पनि थप ५ लाख रुपैयाँसम्मका वस्तु आफ्नो साथमा लैजान सक्ने प्रावधान छ ।

नेपाली बजारमा किनेको बिजक देखाएमा भने उक्त सीमासमेत लागु नहुने मन्त्रालयको सूचनामा उल्लेख छ । हवाईमार्ग वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले ५ हजार अमेरिकी डलर बराबरको नेपालमा विनिमय हुने कुनै पनि विदेशी मुद्रा वा धारक विनिमय अधिकारपत्र साथमा ल्याउन पाउने छन् । त्यसभन्दा बढी ल्याउनुपरे भन्सार बिन्दुमा घोषणा गरी ल्याउन पाइने प्रावधान छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports