आजबाट सुरू हुँदैछ विश्वकप, फुटबलको महाकुम्भ
वि.सं.२०८३ जेठ २८ बिहीवार १०:२६
shares

काठमाडौं । विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ ।
फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा आजदेखि आयोजना हुन लागेको हो ।विश्वकप आजमा मेक्सिको सिटीमा उद्घाटन हुनेछ । प्रतियोगिताको पहिलो खेल आज राति सह–आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ ।
उद्घाटन खेल अघि संगीत र मनोरञ्जन जगतका धेरै प्रमुख व्यक्तित्वहरूको सहभागितामा एक भव्य समारोह हुनेछ । शकिरा उद्घाटन कार्यक्रमको मुख्य आकर्षण हुने बताइएको छ । उनले बर्ना ब्वाय, जे बाल्विन, ड्यानी ओशन, बेलिन्डा, लिला डाउन्स, लस एन्जलस एजुल्स र मानासँगै प्रस्तुति दिनेछिन् । सबै कलाकारहरूले फिफा विश्वकप २०२६ को आधिकारिक एल्बमबाट प्रत्यक्ष गीतहरू प्रस्तुत गर्नेछन् ।
यसपटक पहिलोपटक विश्वकपमा ४८ टोलीले भाग लिनेछन् । १०४ खेल खेलाइनेछ र १६ शहरहरूले यो विश्वव्यापी फुटबल महोत्सव आयोजना गर्नेछ । अघिल्ला संस्करणहरूमा ६४ खेल खेलिएको थियो । यसपटक फुटबलप्रेमीहरूले पहिलेभन्दा धेरै खेल देख्न पाउनेछन् ।
सन् १९३० मा सुरु भएको विश्वकपको इतिहासमा पहिलोपटक टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्याइएको छ । यसले धेरै देशहरूलाई विश्व मञ्चमा आफूलाई प्रमाणित गर्ने मौका दिनेछ ।डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ । अर्जेन्टिनासहित ब्राजिल, जर्मनी, स्पेनजस्ता राष्ट्रहरूको विश्वकपमा दबदबा छ ।
२०२६ को विश्वकप उपाधि नयाँ राष्ट्रले जितेर इतिहास रच्छ कि फेरि पहिले जित्दै आएका राष्ट्रले जित्छ खेल हेर्न रोचक हुनेछ ।समूह चरणको खेल पूरा भएपछि राउन्ड अफ ३२ खेलहरू जुन २९ मा सुरु हुनेछन् । यसपछि जुलाई ४ मा प्रि–क्वार्टरफाइनल, जुलाई ९ मा क्वार्टरफाइनल र जुलाई १४ र १५ मा सेमिफाइनल खेलहरू हुनेछ ।
प्रतियोगिताको फाइनल खेल जुलाई १९ मा हुनेछ । विश्वकपले नयाँ विश्व च्याम्पियन टोली पाउनेछ ।

































