लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब नियुक्त
वि.सं.२०८३ साउन २० बुधवार १३:४८
shares

काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्ले उक्याबलाई बोर्डको कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उक्याब विकास अर्थशास्त्री हुन्। यसअघि लगानी बोर्डमै परामर्शदाताको रूपमा काम गरेकी काठमाडौँ निवासी उक्याब सार्वजनिक नीति, दिगो विकास, जलवायु, आर्थिक विकास तथा लगानीका विषयको विशेषज्ञका रूपमा परिचित रहेको बताइन्छ । उक्याबले संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमको प्यासिफिक कार्यालय (फिजी) मा सिनियर पोलिसी एडभाइजरको रूपमा काम गरेको अनुभव छ । त्यसअघि उनी युएनडीपी नेपालमा विकास अर्थशास्त्री थिइन् ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले संयोजक रहेको सिफारिस समितिले लगानी बोर्डको सीईओको लागि याङ्की उक्याब, मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो ।




































