पाकिस्तानको १०० टन राहत सामग्री नेपालका लागि राजदूतद्धारा हस्तान्तरण
वि.सं.२०८३ भदौ २२ सोमवार ११:२६
shares

भोटेकोशी र त्रिशुली नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नेपाली जनतालाई सहयोग गर्दै पाकिस्तानले पठाएको १०० टन राहत सामग्री काठमाडौंमा हस्तान्तरण गरिएको छ । त्रिपाल, कम्बल, म्याट, स्वास्थ्य तथा सरसफाइसम्बन्धी सामग्री र औषधि रहेको राहत सामग्री नेपालका लागि पाकिस्तानी राजदूत आमिर खानले मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन् ।
सामग्री हस्तान्तरण गर्दै राजदूत खानले विपद्को यस कठिन घडीमा पाकिस्तान सरकार तथा पाकिस्तानी जनताको तर्फबाट नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका छन् । उनले बाढी तथा पहिरोका कारण ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सबैप्रति सहानुभूति प्रकट गरेका छन् ।
नेपाल सरकार तथा नेपाली जनताप्रति दुःखको समयमा पाकिस्तानको समर्थन र ऐक्यबद्धता जनाउँदै आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउन पाकिस्तान तयार रहेको जानकारी उनले दिएका छन् । पाकिस्तानले प्राकृतिक विपद्बाट प्रभावित नेपाललाई कठिन परिस्थितिमा सहयोग र मानवीय ऐक्यबद्धता निरन्तर रहने जनाएको छ।






































