अमेरिकी इतिहासमा तल्लो सदनमा डेमोक्रेटिक पार्टीको तिन दशकयताकै भन्दा ठूलो बहुमत
वि.सं.२०८३ मंसिर ७ सोमवार ०८:३९
shares

यसै महिना सम्पन्न मिडटर्म (मध्यावधि) निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ मा कम्तीमा २५८ सिटमा जित हासिल गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार योसँगै डेमोक्रेटिक पार्टीले तीन दशकभन्दा लामो समयपछि तल्लो सदनमा कुनै पनि दलले प्राप्त गरेको सबैभन्दा ठूलो बहुमत सुरक्षित गरेको हो।
एसोसिएटेड प्रेस (एपी) का अनुसार आइतबार नर्थ क्यारोलिनाका डेमोक्रेटिक उम्मेदवार चक हबार्डले आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीलाई पराजित गरेसँगै आगामी वर्षको सदनका लागि डेमोक्रेटिक पार्टीको सिट सङ्ख्या २५८ पुगेको हो। कुल ४३५ सदस्यीय तल्लो सदनमा अझै चारवटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आउन बाँकी नै छ।
अमेरिकी सिनेट र तल्लो सदन दुवैमा डेमोक्रेटिक पार्टीले हासिल गरेको यो प्रचण्ड चुनावी जितले राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक व्यवस्थापन र गत फेब्रुअरीमा इरानविरुद्ध युद्ध शुरू गर्ने निर्णयप्रति मतदाताहरूमा रहेको गहिरो असन्तुष्टिलाई स्पष्ट रूपमा प्रतिविम्बित गरेको समाचारमा उल्लेख छ । इरान युद्धका कारण अमेरिकामा इन्धनको मूल्य ह्वात्तै बढेको थियो। विभिन्न मतसर्वेक्षणहरूमा मतदाताहरूले बढ्दो महँगी तथा जीवनयापनको खर्चप्रति चिन्ता व्यक्त गर्दै ट्रम्प प्रशासनले यस विषयलाई सम्हाल्ने तरिकाप्रति तीव्र आक्रोश पोखेका थिए।
अमेरिकी कङ्ग्रेसको अभिलेखअनुसार डेमोक्रेटिक पार्टीले यसअघि सन् १९९२ मा २५८ सिट जितेको थियो भने सन् २००८ को निर्वाचनमा २५७ सिट हासिल गरेको थियो। अर्कोतर्फ, रिपब्लिकन पार्टीको तल्लो सदनमा पछिल्लो समयको सबैभन्दा ठूलो बहुमत सन् २०१५ देखि २०१७ सम्मको ११४औँ कङ्ग्रेसमा २४७ सिट मात्र थियो।
यद्यपि, आगामी वर्ष डेमोक्रेटहरूले सन् १९९० को दशकको सुरुवातपछिकै सबैभन्दा ठूलो मतान्तर कायम गरे पनि २०औँ शताब्दीका केही दशकहरूमा भने दुवै दलले योभन्दा निकै ठूला बहुमत हासिल गरेका थिए। सन् १९३० को दशकको अधिकांश समय डेमोक्रेटिक पार्टीसँग ३१३ वा सोभन्दा बढी सिट थियो भने सन् १९६० को दशकको मध्यतिर र सन् १९७० को दशकको अन्त्यतिर सो पार्टीले २९० सिटको आँकडा पार गरेको थियो। त्यस्तै, रिपब्लिकन पार्टीले सन् १९२० को दशकमा तल्लो सदनमा सबैभन्दा बढी ३०२ सिटसम्म जितेर ऐतिहासिक बहुमत कायम गरेको इतिहास छ।

































