प्रधानमन्त्री बालेनलाई काग्रेस , एमाले र नेकपाका नेताको काउन्टर खुल्लामञ्च तपाईले बनाएको होईन पुराना दलले नै बनाएका हुन
वि.सं.२०८३ असोज १९ सोमवार ०८:३४
shares

काठमाडौँ । खुलामञ्चको प्रसङ्ग जोडेर नेपाली कांग्रेसमाथि व्यङ्ग्य प्रहार गरेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई कांग्रेस, एमाले र नेकपाका नेताहरूले काउन्टर जवाफ फर्काएका छन् ।
प्रधानमन्त्री बालेन शाहले आइतबार साँझ सामाजिक सञ्जालमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै कांग्रेसलाई व्यङ्ग्य गरेका थिए ।त्यसको जवाफमा कांग्रेसका नेता सचिन तिमलसिनाले आइतबार राति सामाजिक सजालमार्फत प्रधानमन्त्री बालेनलाई मुलुकमा कांग्रेसले लोकतन्त्र ल्याएकै कारण प्रधानमन्त्री पदमा रहेर पनि रातको समयमा तल्लो स्तरको टिप्पणी गर्ने छुट मिलेका काउन्टर जवाफ दिएका हुन् ।
तिमलसिनाले भनेका छन्, ‘धन्न कांग्रेसले यो देशमा लोकतन्त्र स्थापना गरेछ । प्रधानमन्त्री नै भए पनि ९ बजे पछि तल्लो स्तरको टिप्पणी गर्न पाएका छन् ।’कांग्रेसको १५ औँ महाधिवेशनको मञ्चबाट सभापति गगन थापाले प्रधानमन्त्री संसद्मा उपस्थित नहुने गरेको भन्दै आलोचना गरेका थिए ।प्रधानमन्त्रीको सोही अभिव्यक्ति पदीय मर्यादा विपरीत र अमर्यादित रहेको आरोप लगाउँदै कांग्रेस नेता तिमलसिनाले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको इतिहास सम्झाएर जवाफ फर्काएका हुन् ।
एमालेका सचिव महेश बस्नेतले बालेनलाई जवाफ दिँदै खुलामञ्च तपाईँले नभएर पुराना दलहरूले बनाएको बताएका छन् ।सचिव बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री बालेनले भनेछन, “धन्न खुलामञ्च राम्रो बनाइएछ, त्यहीँबाट सरकारलाई गाली गरेछन् ।”बस्नेतले बालेनजी, सरकारलाई प्रश्न गर्नु गाली हो कि लोकतान्त्रिक अधिकार ? भन्दै प्रश्न समेत गरेका छन् ।
‘प्रश्न गर्ने ठाउँ सदनमा बन्द गर्नुभयो, सडकमा प्रश्न उठ्दा सरकारले नियन्त्रण गर्दै छ । जनताले सरकारलाई प्रश्नचाहिँ कहाँ गर्ने ? कि प्रश्न गर्नु नै अपराध हो ?’, बस्नेतको प्रश्न छ । त्यस्तै उनले कर तिर्ने जनता र तिनका प्रतिनिधिले सरकारको नीति, निर्णय र कामको हिसाब माग्न नपाउने ? भन्दै अर्को प्रश्न गरेका छन् ।‘खुलामञ्च तपाईँले होइन, पुराना दलहरूले बनाएका हुन । त्यसलाई राम्रो बनाउनु उपलब्धि हो । तर लोकतन्त्रमा प्रश्न गर्ने आवाजलाई सम्मान गर्न नसक्नु सरकारको परीक्षा हो’, बस्नेतको भनाइ छ ।
त्यस्तै नेकपाका नेता रामप्रसाद सापकोटा दीपशिखाले पनि सामाजिक सञ्जालमार्फत नै बालेनलाई काउन्टर जवाफ दिएका छन् । उनले भनेका छन्, ‘धन्न पुरानाले बनाएको बालुवाटार खरानी बनाउन भ्याएनौ र सुल्फेले सर्को हानेर रातविरात मानिसहरूलाई छोप्ने आदेश दिन पाएका छन् ।’



































