कस्तो रहला आज सोमबारको मौसम : तराईमा आंशिक बादल लाग्न सक्ने, पहाड र हिमालमा बर्षा तथा हिमपातको सम्भावना
वि.सं.२०८३ असोज १९ सोमवार ०८:३२
shares

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव परेको जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको असर छ ।
कोशी, मधेस र बागमती प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।हाल देशका हिमाली तथा पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बादल लागेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका तराई भू-भागमा आंशिक बदली रहे पनि बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थान र बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
सोमबार देशका विभिन्न भू-भागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भाग एवं देशका तराई क्षेत्रमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ ।दिउँसो र रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्छ । ती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ ।
मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



































